तामाकोशी बस दुर्घटना: मृत्यु हुनेको संङ्ख्या ६ पुग्यो, सिन्धुलीको गोताखोर टोली उद्धारमा
काठमाडौँ। रामेछापको मन्थली नगरपालिका–सेलेघाटमा भएको बस दुर्घटनापछि उद्धार कार्यलाई तीव्र बनाइएको छ । तामाकोशी नदीमा खसेको बसबाट यात्रु खोजी र उद्धारका लागि सशस्त्र प्रहरी बलका गोताखोर परिचालन गरिएको छ।
सशस्त्र प्रहरी बलका अनुसार सिन्धुलीको खुर्कोटस्थित विपद् व्यवस्थापन बेसबाट १० जना गोताखोर घटनास्थलमा पठाइएको हो। उद्धार र खोजी कार्य निरन्तर जारी छ।
काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको प्रदेश–३–०१–००५ ख ९९७५ नम्बरको यात्रुवाहक बस मङ्गलबार सेलेघाटमा दुर्घटनामा परेको थियो। हालसम्म ६ जनाको मृत्यु पुष्टि भएको छ। मृतकमध्ये २ जना पुरुष र ४ जना महिला छन्।
घटनामा घाइते भएका ५ जनालाई उद्धार गरी खुर्कोटस्थित सामुदायिक अस्पतालमा उपचारका लागि पठाइएको छ। दुर्घटनास्थलमा रामेछाप जिल्ला प्रहरी कार्यालयका डीएसपी भोला भट्ट नेतृत्वको टोली खटिएको छ।
प्रहरीका अनुसार खोजी, उद्धार र घटनाको कारणबारे अनुसन्धान जारी रहेको छ।
