विकासे मन्त्रालयहरूकै बजेट खर्च दयनीय अवस्थामा
काठमाडौँ । ठूलो बजेट ओगटेका विकासे मन्त्रालयहरू नै बजेट खर्चमा दयनीय अवस्थामा रहेको देखिएको छ ।
अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन अनुसार सहरी विकास मन्त्रालयले पुस मसान्तसम्म ६.३१ प्रतिशत मात्र बजेट खर्च गर्न सकेको छ ।
यस वर्ष सहरी विकास मन्त्रालयले ९१ अर्ब ३५ करोड रुपैयाँ बजेट ओगटेको छ । खर्च भने ५ अर्ब ७६ करोड मात्र गर्न सकेको छ ।
उता, अर्को ठूलो बजेट ओगट्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको १८.१२ प्रतिशत मात्र खर्च भएको छ । यस मन्त्रालयले चालु आव कुल १ खर्ब ५३ अर्ब रुपैयाँ बजेट ओगटेको छ । खर्च भने २७ अर्ब ८७ करोड मात्र भएको छ ।
त्यस्तै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अर्को ठूलो बजेट ओगटेको मन्त्रालय हो । यो मन्त्रालयको ६ महिनाको खर्च १६.५६ प्रतिशत मात्र छ । ४२ अर्ब ७७ करोडको बजेट राखेको यस मन्त्रालयले ७ अर्बमात्र खर्च गर्न सकेको देखिन्छ ।
प्रतिशतका हिसाबमा सबैभन्दा धेरै बजेट खर्च परराष्ट्र मन्त्रालयले गरेको छ । सो मन्त्रालयले ६ महिनामै ५५.८० प्रतिशत बजेट खर्च गरिसकेको तथ्यांक छ ।
अर्थ मन्त्रालय स्वयंले ६ महिनामा ३५.५४ प्रतिशत बजेट खर्च गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ३२.९८ प्रतिशत बजेट खर्च गरेको अर्थ मन्त्रालयको तथ्यांक छ ।
