मंगलबार २७ माघ, २०८२

सरकारको आम्दानी लक्ष्यभन्दा झन्डै २ खर्ब कम हुने अनुमान

सरकारको आम्दानी लक्ष्यभन्दा झन्डै २ खर्ब कम हुने अनुमान

काठमाडौं । कर राजस्व, गैरकर र विविध प्राप्तिबाट हुने सरकारको आम्दानीले लक्ष्य नभेट्ने प्रक्षेपण गरिएको छ । अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै यसबारे जानकारी गराएको हो ।

मन्त्रालयका अनुसार राजस्व संकलन र विविध प्राप्तिको संशोधित अनुमान १२ खर्ब ९८ अर्ब रुपैयाँमा झारिएको छ ।

यसअघि सरकारले कुल १४ खर्ब ८० अर्ब रुपैयाँ बराबर आम्दानीको लक्ष्य राखेको थियो । जसमा कर राजस्व १३ खर्ब २५ अर्ब उठ्ने अनुमान थियो । पुस मसान्तसम्म ५ खर्ब १६ अर्बमात्र कर राजस्व उठेको छ ।

बाँकी ६ महिनामा ६ खर्ब ५० अर्ब कर राजस्व उठ्ने अनुमान अर्थ मन्त्रालयले गरेको छ । गैरकर राजस्व १ खर्ब २७ अर्ब बराबर मात्र उठ्ने अनुमान अर्थको छ ।

आवको बाँकी अवधिमा निर्वाचन हुनेछ । यसले निर्वाचन लक्षित खर्च र आर्थिक क्रियाकलाप बढाउने र त्यसले राजस्व संकलन बढाउने अपेक्षा अर्थको छ ।

वैदेशिक व्यापारमा आएको सुधारले आयातबाट हुने राजस्व संकलन लक्ष्य अनुसार हुने समेत अर्थले बताएको छ । १५ जेठमा आगामी आवको बजेट आउने भएकाले बजेट लक्षित आर्थिक गतिविधिले समेत राजस्व बढाउने अर्थको विश्लेषण छ ।