सुर्तीजन्य पदार्थको कुलतमा नेपाली : ५.१ प्रतिशत महिला, ४१.८ प्रतिशत पुरूष
काठमाडौं । नेपालमा १५ वर्ष नपुग्दै बालबालिका चुरोटको लतमा लाग्ने गरेको पाइएको छ ।
सोमबार राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार सबैभन्दा बढी ५.५ प्रतिशत काठमाडौं उपत्यकाका किशोरकिशोरीहरू १५ वर्ष नपुग्दै चुरोट लगायतको सुर्तीजन्य पदार्थको लतमा फसेको पाइएको हो ।
यस्तै, गण्डकी प्रदेशको ग्रामीण क्षेत्रमा ४.४ प्रतिशत किशोरकिशोरी चुरोटको लतमा छन् । जहाँ सहरी क्षेत्रका ३.८ प्रतिशत १५ वर्ष नपुगेका किशोरकिशोरी लतमा छन् ।
यस्तै, लुम्बिनी प्रदेशको सहरी क्षेत्रमा २.४ र ग्रामीण क्षेत्रमा १.१ प्रतिशत किशोरकिशोरी १५ वर्ष नपुग्दै चुरोट सेवन गरिरहेको पाइएको छ । यस्तै कर्णाली प्रदेशको ग्रामीण क्षेत्रमा ३.८ र सहरी क्षेत्रमा १.९, सुदूरपश्चिम प्रदेशमा ग्रामीण क्षेत्रमा ४.१ र सहरी क्षेत्रमा ३.४ प्रतिशत किशोर किशोरी १५ वर्ष नपुग्दै चुरोटको कुलतमा लागेका छन् ।
यसरी चुरोट सेवन गर्ने किशोरकिशोरीमध्ये ६.४ प्रतिशत स्कुल नगएका, कक्षा १ देखि ५ सम्म पढेका ५.९ प्रतिशत रहेका छन् भने धनीभन्दा गरीब परिवारका किशोरकिशोरी अझ बढी रहेको देखाएको छ । अति गरिब वर्गका २५.५ प्रतिशत सुर्तीजन्य पदार्थको कुलतमा लाग्दा अति धनी वर्गका १६.१ प्रतिशत मात्रै सुर्तीजन्य पदार्थको कुलतमा लागेको देखाएको छ ।
५.१ प्रतिशत महिला कुनै न कुनै सुर्तीजन्य पदार्थको लतमा
नेपाल समग्ररूपमा सुर्तीजन्य पदार्थ सेवन गर्नेहरूको संख्या बढेको छ । अझ रोचक त के भने अहिले १५ देखि ४९ वर्ष उमेर समूहका ५.१ प्रतिशत महिला कुनै न कुनै सुर्तीजन्य पदार्थको लतमा लागिरहेको पाइएको छ ।
तम्बाखु, चुरोट, बिँडी, भेपलगायत विभिन्न सुर्तीजन्य पदार्थ प्रयोग गर्नेको महिलाको संख्या बढेको पाइएको छ । सोही उमेर समूहका पुरुष भने ४१.८ प्रतिशत लतमा छन् ।
सहरीभन्दा ग्रामीण क्षेत्रमा बढी
सुर्तीजन्य पदार्थ सेवन गर्नेमा सहरी क्षेत्रका भन्दा ग्रामीण क्षेत्रका नागरिक बढिरहेका छन् । ग्रामीण क्षेत्रमा २०.० प्रतिशत नागरिकले सुर्तीजन्य पदार्थ सेवन गर्दा सहरी क्षेत्रका १९.९ प्रतिशतले सेवन गर्ने गरेका छन् ।
प्रदेशअन्तर्गत हेर्दा सबैभन्दा बढी कोशी प्रदेशका २४.५ र सबैभन्दा कम सुदूरपश्चिममा १५.६ प्रतिशतले सुर्तीजन्य पदार्थ खाने गरेको पाइएको छ ।
विज्ञहरू भने ग्रामीण क्षेत्रका नागरिक सुर्तीजन्य पदार्थ स्वास्थ्यमा पार्ने असरबारे जानकारी नहुँदा सेवन गरिरहे पनि सहरी क्षेत्रका नागरिक सबै कुरा जानकारी हुँदा पनि सेवन गर्ने गरेको बताउँछन् ।
अझ विद्यालय तथा कलेज पढ्दै गरेका बालबालिका भेपलगायतका बजारमा नयाँ आएका सुर्तीजन्य पदार्थको लतमा छन् । स्वास्थ्यमा पार्ने असरबारे सचेत उनीहरू बढी सेवन गर्ने गरेको बताउँछन् ।
