बजेटको अर्धवार्षिक समीक्षा : ८५.९६ प्रतिशतमात्र खर्च हुने संशोधित अनुमान
काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८२/८३ मा कार्यान्वयन गरिरहेको बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ । मन्त्रालयले ८५.९६ प्रतिशतमात्र बजेट खर्च हुने संशोधित अनुमान सार्वजनिक गरेको हो ।
अर्थमन्त्री रामेश्वर खनालले मंगलबार बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै बजेट खर्च अनुमान संशोधन गरेका हुन् ।
अहिले सरकारले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको छ । आव अन्तिसम्म १६ खर्ब ८८ अर्ब ३२ करोड रुपैयाँमात्र खर्च हुने अनुमान अर्थ मन्त्रालयले गरेको छ । जुन सुरु विनियोजनको ८५.९६ प्रतिशत बराबर हो ।
यस अवधिमा चालु खर्च ११ खर्ब २५ अर्ब ९७ करोड र पुँजीगत खर्च २ खर्ब ४३ अर्ब ३० करोड बराबर हुने अनुमान गरिएको छ । वित्तीय व्यवस्थातर्फको बजेट ३ खर्ब १९ अर्ब ४ करोड बराबर खर्च हुने संशोधित अनुमान अर्थले गरेको छ ।
विनियोजन भने चालु बजेट ११ खर्ब ८० अर्ब, पूँजीगत बजेट ४ खर्ब ७ अर्ब र वित्तीय व्यवस्थामा ३ खर्ब ७५ अर्ब छ । पुस मसान्तसम्म चालु खर्च लक्ष्यको ४१.२५ प्रतिशत, पुँजीगत खर्च १२.१२ प्रतिशत र वित्तीय व्यवस्थामा ४०.९५ प्रतिशत बराबर भएको छ । चालु आवमा आर्थिक वृद्धि लक्ष्य ६ प्रतिशत हुने अनुमान भने यथावत राखिएको छ ।
