मंगलबार २७ माघ, २०८२

गोदावरीका करार इन्जिनियरमाथि २ करोड अवैध सम्पत्ति आर्जनको आरोप

गोदावरीका करार इन्जिनियरमाथि २ करोड अवैध सम्पत्ति आर्जनको आरोप

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिकामा कार्यरत करार इन्जिनियर सुबास बिष्टविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सार्वजनिक पदमा रहँदा पदको दुरुपयोग गरी अकुत सम्पत्ति जोडेको निष्कर्ष निकाल्दै आयोगले मंगलबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।

नगरपालिकामा इन्जिनियरको रूपमा प्रवेश गरेपछि बिष्टले छोटो समयमै अस्वाभाविक सम्पत्ति आर्जन गरेको पाइएको छ । अख्तियारले २०७६ फागुन १ गतेदेखि २०८१ साउन १४ गतेसम्मको अवधिलाई जाँचबुझ गरेको थियो । यो ५ वर्षको अवधिमा उनको वैध आम्दानी र खर्चबिच ठूलो अन्तर देखिएको छ ।

अनुसन्धान अनुसार बिष्टको वैध आय जम्मा १ करोड २७ लाख ७४ हजार ६ सय ७३ रुपैयाँ मात्र देखिएको छ । यसमा उनको तलब, भत्ता, श्रीमतीको तलब बचत, ऋण सापटी र सेयर बिक्रीबाट प्राप्त रकम जोडिएको छ । तर, सोही अवधिमा उनले ३ करोड २४ लाख ८४ हजार ८ सय ३० रुपैयाँ खर्च तथा लगानी गरेको भेटिएको छ ।

अख्तियारका अनुसार बिष्टले आफ्नो वैध कमाइभन्दा १ करोड ९७ लाख १० हजार १ सय ५७ रुपैयाँ बढी खर्च गरेका छन् । झन्डै २ करोड रुपैयाँ बराबरको यो सम्पत्तिको स्रोत उनले पुष्टि गर्न सकेनन् । उनले भ्रष्टाचार गरेर कमाएको रकम जग्गा खरिद, घर निर्माण, सेयर बजार, छोराको पढाइ खर्च, विभिन्न कम्पनीमा लगानी तथा बैंकको ऋण तिर्न प्रयोग गरेको अनुसन्धानबाट खुलेको छ ।

सार्वजनिक सेवामा रहेर उनले अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको र पेस गरेको सम्पत्ति विवरणसँग उनको वास्तविक सम्पत्ति मेल नखाएको अख्तियारले जनाएको छ । उनले गैरकानुनी रूपमा कमाएको सम्पत्ति बुबा सुदर्शन बिष्टको नाममा लुकाएर राखेको समेत पाइएको छ ।

अवैध सम्पत्ति व्यवस्थापनमा सहयोग गरेको भन्दै अख्तियारले इन्जिनियर सुबास बिष्ट र उनका बुबा सुदर्शन बिष्ट दुवैलाई प्रतिवादी बनाएको छ । आयोगले बिगो जफत र कानुन बमोजिमको सजाय माग गर्दै मुद्दा दर्ता गरेको हो ।