जेनजी आन्दोलनमा साढे ८४ अर्बको भौतिक क्षति
काठमाडौँ । गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनले नेपालको शासन व्यवस्था, आर्थिक अवस्था र सामाजिक प्रणालीमा दीर्घकालीन प्रभाव पारेको सरकारी प्रतिवेदनले जनाएको छ ।
अर्थ मन्त्रालयद्वारा सार्वजनिक चालू आर्थिक वर्षको बजेट अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदनमा उक्त आन्दोलनले सार्वजनिक र निजी क्षेत्रको गरी कुल ८४ अर्ब ४५ करोड ७७ लाख रुपैयाँ बराबरको भौतिक सम्पत्ति क्षति भएको उल्लेख छ ।
प्रतिवेदन अनुसार यो क्षति नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को १.३८ प्रतिशत र चालू आर्थिक वर्षको कुल बजेटको ४.३० प्रतिशत बराबर छ ।
प्रतिवेदनमा आन्दोलनमा ७३ पुरुष र ४ महिला गरी कुल ७७ जनाको मृत्यु भएको र २४२९ जना घाइते भएको पनि उल्लेख छ ।
कुल भौतिक क्षतिमध्ये ५३ प्रतिशत सार्वजनिक क्षेत्रको रहेको अर्थ मन्त्रालयले जनाएको छ । निजी क्षेत्रको क्षति ३० प्रतिशत र सामुदायिक तथा अन्य क्षेत्रको क्षति ७ प्रतिशत रहेको छ ।
सार्वजनिक क्षेत्रमा ४ अर्ब ४९ करोड ७३ लाख रुपैयाँको क्षतिमा संघीय निकायको ६६ प्रतिशत र स्थानीय सरकारको २१.८ प्रतिशत हिस्सा रहेको छ । प्रतिवेदनले आन्दोलनकारीले सार्वजनिक भवन, सवारी साधन र बहुमूल्य नगद जिन्सी लुटेका र तोडफोड गरेको उल्लेख गरेको छ ।
निजी क्षेत्रमा ३३ अर्ब ३४ करोड ८७ लाख रुपैयाँको भौतिक क्षति भएको छ । यसमा निजी प्रतिष्ठानतर्फ २ अर्ब ७४ करोड र सर्वसाधारणको घरपरिवारतर्फ ६८ करोड ४० लाखको नोक्सानी परेको छ ।
दलका कार्यालय र सामुदायिक संघ–संस्थाको ५९ करोड ७१ लाख बराबरको सम्पत्ति क्षति भएको प्रतिवेदनमा जनाइएको छ ।
अवरोधका कारण आर्थिक गतिविधि ठप्प हुँदा वस्तु तथा सेवा उत्पादनमा १३ अर्ब ८७ करोड ५६ लाख रुपैयाँको नोक्सानी भएको र २३५३ जनाले पूर्ण रूपमा रोजगारी गुमाएको प्रतिवेदनमा उल्लेख छ ।
राष्ट्रिय योजना आयोगको मूल्याङ्कन अनुसार क्षतिग्रस्त भवन, सवारी साधन र अन्य भौतिक वस्तुको पुनर्निर्माणका लागि कुल ३६ अर्ब ३० करोड २१ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।
