१२.९८ प्रतिशतले बढ्यो रिलायबल नेपाल लाइफको नाफा, जीवन बीमा कोषको आकार १५ अर्ब माथि
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको नाफामा सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालू आवको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार १२.९८ प्रतिशतले नाफा बढेको हो ।
कम्पनीले चालु आर्थिक वर्षको पुस मसान्तसम्मको अवधिमा ३९ करोड ५८ लाख रुपैयाँ नाफा कमाएको छ । गत आवको पुस मसान्तसम्म कम्पनीले ३५ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
त्यस्तै समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी पनि २ अर्ब २१ करोड ८७ लाख रुपैयाँबाट ३२.३९ प्रतिशतले बढेर २ अर्ब ९३ करोड ७३ लाख रुपैयाँ नाघेको छ भने कर्जा तथा लगानीबाट प्राप्त हुने आम्दानी ६९ करोड १९ लाख रुपैयाँबाट ७.२६ प्रतिशतले बढेर ७४ करोड ४६ लाख रुपैयाँ नाघेको छ।
त्यसैगरी समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी १७.१८ प्रतिशतले वृद्धि हुँदा कुल खर्च पनि १७.६० प्रतिशतले वृद्धि भएको र कम्पनीले आफ्ना अभिकर्ताहरूलाई दिने कमिशनमा पनि १७.८९ प्रतिशतको वृद्धि तथ्यांकले देखाएको छ ।
समीक्षा अवधिमै कम्पनीको जीवन बीमाकोषको आकार ११ अर्ब ५३ करोड २३ लाख रुपैयाँबाट ३२ प्रतिशतले बढेर १५ अर्ब २४ करोड १३ लाख रुपैयाँ नाघेको छ भने प्रतिसेयर आम्दानी १५.१० रुपैयाँबाट बढेर १५.७७ प्रतिशत कायम भएको छ ।
चुक्ता पुँजी ५ अर्ब १९ करोड रुपैयाँ रहेको कम्पनीको महाविपत्ति कोषमा करिब २६ करोड ९३ लाख रुपैयाँ र जगेडा कोषमा ६१ करोड ६६ लाख रुपैयाँ रहेको छ। पुस मसान्तसम्म २ अर्ब १० करोड ८९ लाख रुपैयाँ लगानी गरेको यस कम्पनीको सम्पत्तिको कुल मूल्य २३ अर्ब ४७ करोड रुपैयाँभन्दा माथि रहेको छ ।
