अतिआवश्यक परेका उपभोक्तालाई आयल निगमको कार्यालयबाटै ग्यास वितरण
काठमाडौं । उपभोक्ताहरूलाई सहजीकरण गर्ने उद्देश्यले नेपाल आयल निगमले बजारमा अभाव भएका ग्यास सिलिन्डरको बिक्री–वितरण आफ्नै प्रत्यक्ष निगरानीमा सञ्चालनमा ल्याएको छ। निगमले टेकुस्थित केन्द्रीय कार्यालयबाट यस्तो ग्यासको बिक्री–वितरण सुरु गरेको जनाएको छ।
हाल बजारमा एभरेस्ट,बाबा,साईबाबा, नेपाल लगायतका ग्यास सिलिन्डर अभाव देखिएको तथा वितरण प्रक्रियामा ढिलाइ भएको गुनासो बढेपछि निगमले विशेष पहल थालेको हो।
उपभोक्ताबाट प्राप्त गुनासो तथा अनुगमनका क्रममा देखिएका समस्यालाई मध्यनजर गर्दै निगमले तत्कालका लागि टेकु कार्यालयबाटै समस्या भएका ग्यास सिलिन्डर बिक्री–वितरणको व्यवस्था मिलाएको आयल निगमका प्रवन्ध निर्देशक चण्डिका भट्टले जानकारी दिएका छन् ।
निगमका अनुसार, उपभोक्ताले खरिद गरेको ग्यासमा कुनै समस्या देखिएमा सम्बन्धित बिलसहित टेकु कार्यालयमा सम्पर्क गर्न सक्नेछन्। निगमले प्राविधिक टोलीमार्फत जाँच गरी आवश्यक परेमा सिलिन्डर साटफेर गर्ने व्यवस्था मिलाइएको छ। यस कदमले उपभोक्तामा देखिएको अन्योल र असन्तुष्टि घट्ने विश्वास निगमले लिएको छ।
