बुधबार २८ माघ, २०८२

सलिकोले ६ महीनामा कमायो ३ करोड ७३ लाख नाफा

सलिकोले ६ महीनामा कमायो ३ करोड ७३ लाख नाफा

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ। सो विवरण अनुसार कम्पनीको अधिकांश वित्तीय सूचकमा प्रगति देखिएको हो।

यद्यपि कम्पनीको खुद नाफामा भने गिरावट देखिएको छ। गत आवको ६ महीनासम्म ६ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले त्यसको तुलनामा चालू आवको ६ महीनासम्म ४३.२९ प्रतिशत गिरावट सहित ३ करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

यद्यपि कम्पनीको व्यवसायमा भने उल्लेख्य मात्रामा वृद्धि भएको तथ्यांकले देखाएको छ। गत आवको पुस मसान्तसम्म ७१ करोड ९१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको कम्पनीले त्यसको तुलनामा चालू आवको सोही अवधिमा ६१.९४ प्रतिशतको उत्साहजनक वृद्धि सहित १ अर्ब १६ करोड ४५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ।

त्यसैगरी समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी २२.१७ प्रतिशतले बढेको छ भने कुल खर्च २७.२२ प्रतिशतले वृद्धि भएको छ। अभिकर्तालाई दिइने कमिशन बापतको रकम ११४.६६ प्रतिशतले बढाएको कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी भने ३३.८७ प्रतिशतले घट्न पुगेको छ।

चुक्ता पूँजी २ अर्ब ६२ करोड रुपैयाँ रहेको कम्पनीको स्पेशल रिजर्भमा २ अर्ब ५५ करोड रुपैयाँ, महाविपत्ति कोषमा २१ करोड ७१ लाख रुपैयाँ र जगेडा कोषमा १० करोड २९ लाख रुपैयाँ सञ्चित रहेको छ। ६ अर्ब २७ करोड रुपैयाँ लगानी गरेको कम्पनीको कुल सम्पत्तिको मूल्य १५ अर्ब ५१ करोड रुपैयाँभन्दा माथि रहेको छ।