लामो समयपछि स्कोडाको नयाँ गाडी नेपाली बजारमा, के छन् विशेषता ?
काठमाडौं – नेपालका लागि स्कोडाको आधिकारिक वितरक एमएडब्लु एक्सपान्जले नयाँ स्कोडा काइलक उपलब्ध गराएको छ । चन्द्रागिरि हिल्स रिसोर्टमा आयोजित एक विशेष कार्यक्रमका बिच नेपाली चलचित्रका महानायक राजेश हमाल र कम्पनीका प्रतिष्ठित पदाधिकारीहरुको उपस्थितिमा सो गाडी सार्वजनिक गरियो ।
स्कोडा काइलक म्यानुअलको मूल्य ४५ लाख ९० हजार र अटोमेटिकको मूल्य ५२ लाख ९० हजार रुपैयाँ देखि प्रारम्भ हुन्छ । पाली बजारमा नयाँ सवारी साधन नभित्र्याएको करिव दुई वर्ष भन्दा बढी नै भइसकेको समयमा कम्पनीले अब नयाँ र आकर्षक एसयूभी उपलब्ध गराएको हो ।
सब–फोर मिटर एसयूभीको रुपमा भारतमा राम्रो चर्चा कमाएको स्कोडा काइलक लन्च भएको एक वर्ष भन्दा बढी नै भइसकेको छ । नेपाली बजारमा पहिले स्कोडा कुशाक र स्लाभिया जस्ता एसयूभीले राम्रो बजार लिए पनि पछिल्लो समयमा भने नयाँ मोडल भित्रिएका थिएनन् ।
नेपाली बजारमा समेत पहिले देखि नै उपलब्ध स्कोडा कुशाक जस्तो देखिने काइलकको फ्रन्ट र रियर धेरैजसो कुशाकसँग मिल्दोजुल्दो छ । यसमा १७ इन्चको अलोय ह्विल छ । यसको बोल्ड रोड प्रेजेन्सबाट धेरैलाई आकर्षण गर्ने अनुमान गरिएको छ । कम बजेट भएका ग्राहकलाई यसले आकर्षण गर्ने अनुमान गरिएको छ ।
स्कोडा काइलकको इन्टेरियरमा धेरै एड्भान्स्ड फिचर रहेका छन् । यसमा ड्युअल डिजिटल स्क्रिन, पावर्ड ड्राइभर सिट, लेदरेट अपहोल्स्ट्री, कनेक्टेड कार टेक्नोलोजी, एम्बियन्ट लाइटिङ र ६–स्पिकर कान्टन साउन्ड सिस्टम लगायतका फिचर उपलब्ध छन् ।
सेफ्टीका लागि यसका सबै भेरिएन्टमा ६ एयरब्याग, एबीएस, ईबीडी, ट्रयाक्सन कन्ट्रेल र सबै यात्रीका लागि आइएसओफिक्स चाइल्ड सिट माउन्टिङ प्वाइन्ट, हेडरेस्ट र थ्री–प्वाइन्ट सिटबेल्ट जस्ता फिचर छन् ।
स्कोडा काइलक ३.९५ मिटर लामो छ । यसको ह्विलबेस २.५६ मिटर छ । यसको ग्राउन्ड क्लियरेन्स १८९ एमएम छ । यसमा ४४६ लिटरको बुटस्पेस छ र सिटलाई तल बनाएर यसलाई १ हजार २६५ लिटर सम्म बढाउन सकिन्छ ।
नयाँ स्कोडा काइलकमा १.० लिटर टीएसआई पेट्रोल इन्जिन छ, जसले ११४ बीएचपी पावर र १७८ एनएम टर्क जेनेरेट गर्छ । सो इन्जिन ६–स्पिड एमटी वा एटीका साथ उपलब्ध हुन्छ ।
स्कोडा काइलकले हाल बजारमा उपलब्ध हुन्डाई भेन्यु, किया सोनेट, महिन्द्रा एक्सयूभी ३एक्सओ, मारुती सुजुकी फ्रङ्क्स र ब्रेजा जस्ता कारसँग प्रतिस्पर्धा गर्नेछ ।
