बिहीबार २९ माघ, २०८२

महाशिवरात्रीमा शिवपार्वती–पशुपति रथयात्रा, सांस्कृतिक संरक्षण र छुवाछूत अन्त्यको आह्वान

महाशिवरात्रीमा शिवपार्वती–पशुपति रथयात्रा, सांस्कृतिक संरक्षण र छुवाछूत अन्त्यको आह्वान

काठमाडौं । महाशिवरात्रीमा पर्वको अवसर पारेर राजधानी काठमाडौंमा शिवपार्वती तथा पशुपति रथयात्रा आयोजना गरिने भएको छ। योगी नरहरिनाथ आध्यात्मिक परिषद् ट्रस्टको अग्रसरतामा सञ्चालन हुँदै आएको उक्त रथयात्रा सनातन धर्म, संस्कृति तथा परम्पराको संरक्षण गर्ने उद्देश्यका साथ विगतदेखि नियमित रूपमा आयोजना हुँदै आएको छ।

ट्रस्टका अनुसार विसं २०६६ सालदेखि राजधानी केन्द्रित रथयात्रा आयोजना गरिँदै आएको छ। यस वर्षको रथयात्रालाई विशेष रूपमा सवा सय जातजातिको धर्म–संस्कृतिको जगेर्ना, सामाजिक सद्भाव अभिवृद्धि तथा छुवाछूत प्रथाको अन्त्य गर्ने सन्देशसँग जोडिएको बताइएको छ।

महाशिवरात्रीको अवसरमा हुने कार्यक्रम योगी नरहरिनाथ ट्रस्ट आध्यात्मिक परिषद्, नेपाल विश्व हिन्दु महासंघ र सुरेन्द्र ढकाल प्रतिष्ठान, बानेश्वरको संयुक्त आयोजनामा हुन लागेको हो। आयोजक संस्थाहरूले नेपाललाई विभिन्न जातजाति, भाषा, धर्म र संस्कृतिले समृद्ध राष्ट्रका रूपमा चित्रित गर्दै सांस्कृतिक पहिचान संरक्षणलाई भावी पुस्ताप्रतिको दायित्वका रूपमा लिनुपर्ने उल्लेख गरेका छन्।

रथयात्रा कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानबाट सुरु भई कमलपोखरी, ज्ञानेश्वर, रातोपुल, मित्रपार्क, जयवागेश्वरी, गौशाला, पुरानो बानेश्वर र नयाँ बानेश्वर हुँदै महादेवस्थानमा पुगेर समापन हुने कार्यक्रम रहेको छ। शिव र पार्वतीको रथसँगै शङ्ख र घण्ट ध्वनिका बीच श्रद्धालुहरूको सहभागितामा यात्रा सञ्चालन गरिने जनाइएको छ। कार्यक्रममा एक दर्जनभन्दा बढी संघ–संस्थाको सहभागिता रहने बताइएको छ।

ट्रस्टका अध्यक्ष शङ्कर पौडेलका अनुसार, यस्ता धार्मिक तथा सांस्कृतिक कार्यक्रममार्फत सनातन धर्म र संस्कृतिमाथि देखिएका चुनौतीहरू सामना गर्न सामूहिक चेतना र एकता अभिवृद्धि गर्न सकिने विश्वास गरिएको छ।

कार्यक्रम २०८२ फागुन २ गते शनिबार दिउँसो १ बजेदेखि सिद्धेश्वर माध्यमिक विद्यालय तथा बागमती क्याम्पस क्षेत्र, शान्तिनगर, काठमाडौं महानगरपालिका–३१ वडा कार्यालय अगाडि आयोजना हुने जनाइएको छ। रथयात्रामा सहभागी हुन इच्छुक श्रद्धालुहरूलाई सपरिवार उपस्थितिका लागि आयोजकले अनुरोध गरेका छन्। थप जानकारीका लागि ९८४९७४२१३४ र ९८४१५९१३४४ मा सम्पर्क गर्न सकिने बताइएको छ।