नेपाली अर्थशास्त्री सोना श्रेष्ठ एडीबीको दक्षिण एसिया महानिर्देशक नियुक्त
काठमाडौं । एशियाली विकास बैंक (एडीबी) ले आफ्नो दक्षिण एसिया विभागको महानिर्देशकमा नेपाली नागरिक डा. सोना श्रेष्ठलाई नियुक्त गरेको छ। मनिलास्थित एडीबी मुख्यालयले बुधबार जारी गरेको विज्ञप्तिमा श्रेष्ठले दक्षिण एसियाका सदस्य राष्ट्रहरूमा बैंकको रणनीति, कार्यक्रम र साझेदारी कार्यान्वयनको नेतृत्व सम्हाल्ने जनाइएको छ।
नयाँ जिम्मेवारीअनुसार उनले बंगलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल र श्रीलंकामा एडीबीका विकास कार्यक्रम, लगानी प्राथमिकता तथा नीतिगत सहकार्यको समन्वय गर्नेछिन्।
नियुक्तिपछि प्रतिक्रिया दिँदै श्रेष्ठले दक्षिण एसिया विभागको नेतृत्व सम्हाल्न पाउँदा आफू सम्मानित र गौरवान्वित भएको बताइन्। उनले सदस्य राष्ट्रहरूसँग नजिकबाट सहकार्य गर्दै समावेशी, लचिलो र दिगो विकास प्रवर्द्धनमा एडीबीको भूमिका अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिन्।
डा. श्रेष्ठ विकास वित्त तथा नीतिगत क्षेत्रमा अनुभवी नेतृत्वकर्ता हुन्। उनीसँग २७ वर्षभन्दा बढी व्यावसायिक अनुभव छ, जसमध्ये २३ वर्ष एडीबीमै बिताएकी छन्। यसअघि उनी दक्षिण एसिया विभागकी उपमहानिर्देशकका रूपमा कार्यरत थिइन्।
उनले एडीबीको स्वतन्त्र मूल्यांकन विभागकी उपमहानिर्देशक, सहायक सचिव, दक्षिण–पूर्वी एसियाका लागि वित्तीय क्षेत्र तथा व्यापार महाशाखाकी निर्देशक तथा इन्डोनेसियाकी उप–देश निर्देशकका रूपमा समेत जिम्मेवारी सम्हालिसकेकी छन्। प्रारम्भिक कार्यकालमा उनले मध्य तथा पश्चिम एसिया, दक्षिण एसिया र दक्षिण–पूर्वी एसियामा विभिन्न कार्यक्रम सञ्चालन अनुभव हासिल गरेकी थिइन्।
नेपाली नागरिक श्रेष्ठले संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर तथा विद्यावारिधि (पीएचडी) उपाधि हासिल गरेकी छन्। उनले म्यासाचुसेट्सस्थित स्मिथ कलेजबाट अर्थशास्त्रमा स्नातक अध्ययन पूरा गरेकी हुन्।
सन् १९६६ मा स्थापना भएको एडीबी एशिया तथा प्रशान्त क्षेत्रमा समावेशी, दिगो र लचिलो आर्थिक वृद्धिलाई प्रवर्द्धन गर्ने प्रमुख बहुपक्षीय विकास बैंक हो। एडीबीमा हाल ६९ सदस्य राष्ट्र आबद्ध छन्, जसमध्ये ५० राष्ट्र क्षेत्रीय सदस्यका रूपमा रहेका छन्।
