‘कोड फर इम्प्याक्ट’ को प्रादेशिक चरण : बागमतीका दुई टोली राष्ट्रिय चरणमा प्रवेश
काठमाडौँ । देशव्यापी ‘कोड फर इम्प्याक्ट : यूएस नेपाल टेक इनोभेसन ह्याकाथन’ को प्रादेशिक चरण काठमाडौँमा सम्पन्न भएको छ । यससँगै युवालक्षित प्रविधि नवप्रवर्तन कार्यक्रमको दोस्रो चरण औपचारिक रूपमा टुंगिएको छ ।
अलफ्ट होटलमा आयोजित कार्यक्रममा नेपालका लागि अमेरिकी दूतावासका कार्यवाहक राजदूत स्कट अर्बोम प्रमुख अतिथिका रूपमा सहभागी थिए । बागमती संस्करणबाट दुई सेमिफाइनल टोली छनोट भएका छन्, जसले अब तेस्रो चरणअन्तर्गत संरचित मेन्टोरसिप र इन्क्युबेसनमा सहभागी हुँदै २०२६ जुनमा हुने राष्ट्रिय प्रदर्शन (नेशनल शोकेस) मा प्रतिस्पर्धा गर्नेछन् ।
अमेरिकी दूतावास नेपालले समर्थन गरेको र आद्यन्त एड्भाइजरीले एमच्याम नेपाल तथा आध्यन्त फन्ड म्यानेजमेन्टसँग सहकार्यमा सञ्चालन गरेको यो कार्यक्रम सातै प्रदेशका करिब १७५ नवप्रवर्तकलाई समेट्दै अघि बढेको छ । आयोजकका अनुसार यो एकपटक हुने ह्याकाथन मात्र होइन, अवधारणादेखि व्यावसायिक नमुनासम्म लैजाने ६ महिनाको यात्राजस्तै हो ।
बागमतीबाट दुई टोली छनोट भएसँगै अब देशभरबाट १४ टोली लक्षित ‘इन्क्युबेसन’ चरणमा प्रवेश गरेका छन् । बागमती प्रदेशबाट आशीर्वाद केयर र डाटा हिती सेमिफाइनलमा प्रवेश गरेका छन् । आशीर्वाद केयरले मुलुकमा विद्यमान विदेशमा बस्ने सन्तान भएका परिवारका लागि घरमै दीर्घरोगी र ज्येष्ठ नागरिकको व्यवस्थित स्वास्थ्य हेरचाहको अभावको अवधारणा प्रस्तुत गरेको थियो ।
समस्या समाधानको लागि यो समूहले प्रविधिमा आधारित घर तथा अस्पताल हेरचाह समन्वय प्लेटफर्म विकास गरेको छ । यसमार्फत परिवारले प्रमाणित केयरगिभर, नर्स, डाक्टर, फिजियोथेरापिस्ट र ल्याब सेवासँग एउटै डिजिटल प्रणालीमार्फत जोडिन सक्ने जनाएको छ ।
परिवारले सेवा प्याकेज छान्न सक्छन् र वेब-आधारित ड्यासबोर्डमार्फत प्रत्यक्ष अपडेट पाउँछन् । सेवा प्रदायकले संरचित केयर प्लानअनुसार काम गर्छन्, जसले निरन्तरता र गुणस्तर सुनिश्चित गर्छ । टोलीले काठमाडौँ उपत्यकामा सेवा सुरु गरिसकेको छ ।
सेमिफाइनलमा प्रवेश गरेको अर्को टोली हो डाटा हिति (क्षेत्रः वित्त तथा डिजिटल व्यापार) । नेपालको ऋण मूल्यांकन संरचना अझै पूर्ण नभएको र धितोबिनाको ऋण तथा फिनटेक सेवाका लागि विश्वसनीय क्रेडिट मूल्यांकन प्रणालीको कमीलाई ध्यानमा राख्दै यो समूहले परियोजना अघि सारेको छ । यसका लागि डाटा हितिले ‘केवाईसीसी’ प्रणाली विकास गरिरहेको छ । यो क्रेडिट स्कोरिङ र नेटवर्क म्यापिङ प्लेटफर्म हो, जसले व्यवसाय, कारोबार इतिहास र बैंकिङ सूचनालाई एउटै संरचित डाटाबेसमा जोड्छ ।
यसले बैंक, बीमा कम्पनी, हायर-पर्चेज फर्म, लगानी कम्पनी र नियामक निकायलाई गहिरो क्रेडिट विश्लेषणमा सहयोग पुर्याउँछ, साथै मनी लन्ड्रिङ नियन्त्रणमा पनि मद्दत गर्छ । टोलीले अन्तर्राष्ट्रिय केवाईसी, केवाईसीसी, एएमएल र क्रेडिट स्कोरिङ मोडेल अध्ययन गरी पहिलो संस्करणको नमुना तयार गरिसकेको छ ।
अब के हुन्छ ?
फेब्रुअरीदेखि मे २०२६ सम्म सबै प्रादेशिक सहभागीलाई मेन्टोरसिप दिइनेछ । १४ सेमिफाइनल टोलीले एक-एक विज्ञसँग नजिकबाट इन्क्युबेसन सहयोग पाउनेछन् । जुन २०२६ मा काठमाडौँमा हुने राष्ट्रिय प्रदर्शनमा उत्कृष्ट सात टोलीले अनुदान र लगानी अवसरका लागि प्रतिस्पर्धा गर्नेछन् ।
लुम्बिनीदेखि कर्णाली र मधेशदेखि बागमतीसम्मका युवालाई जोड्दै ‘कोड फर इम्प्याक्ट’ ले युवा रोजगारी, निजी क्षेत्रको विकास र कृषि, स्वास्थ्य, वित्तजस्ता क्षेत्रमा प्रविधि आधारित समाधानमा अमेरिका-नेपाल सहकार्यलाई बलियो बनाउँदै लगेको आयोजकको भनाइ छ ।
कोड फर इम्प्याक्टबारे
‘कोड फर इम्प्याक्ट : यूएस-नेपाल टेक इनोभेसन ह्याकाथन सिरिज’ ६ महिनासम्म चल्ने देशव्यापी कार्यक्रम हो । यसले सातै प्रदेशका युवा नवप्रवर्तक र प्रारम्भिक चरणका स्टार्टअपलाई आफ्ना विचारलाई बजारमा लैजान सकिने प्रविधि समाधानमा रूपान्तरण गर्न सहयोग गर्छ ।
कार्यक्रममा भर्चुअल बुटक्याम्पमार्फत आधारभूत सीप विकास गरिन्छ । त्यसपछि दुई दिनका प्रादेशिक ह्याकाथन आयोजना हुन्छन् । उत्कृष्ट टोलीलाई संरचित मेन्टोरसिप चक्रमा राखेर आफ्नो प्रोटोटाइप परीक्षण, सुधार र मजबुत बनाउन सहयोग गरिन्छ ।
पर्यटन, स्वास्थ्य, कृषि, शिक्षा, वित्त र डिजिटल व्यापारजस्ता विभिन्न क्षेत्रमा काम गर्ने टोलीहरू यस कार्यक्रममा सहभागी हुन्छन् । साथै, कथा भन्ने शैली विकास गर्ने र लगानीकर्तासँग प्रस्तुत हुन तयार पार्ने सहयोग पनि प्रदान गरिन्छ । अन्त्यमा राष्ट्रिय प्रदर्शन कार्यक्रम आयोजना हुन्छ, जहाँ सम्भावना बोकेका टोलीहरूलाई लगानीकर्ता, साझेदार र विभिन्न प्लेटफर्मसँग जोड्ने अवसर दिइन्छ, ताकि उनीहरूको समाधान बजारसम्म पुग्न सकोस् ।
