बिहीबार २९ माघ, २०८२

राष्ट्रिय आर्थिक गणना : ४५ सय कर्माचारी माग, १ लाख ३५ हजार भन्दा बढीले दिए आवेदन

राष्ट्रिय आर्थिक गणना : ४५ सय कर्माचारी माग, १ लाख ३५ हजार भन्दा बढीले दिए आवेदन

काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले गर्न लागेको राष्ट्रिय आर्थिक गणना २०८२ का लागि करार कर्मचारी माग गरिएकोमा  अत्यधिक बढी आवेदन परेको छ ।

तथ्यांक कार्यालयका अनुसार ३ हजार ९ सय १३ गणक र ५ सय २६ सुपरिवेक्षक गरी करिब ४ हजार ५ सय जनशक्तिका लागि आवेदन माग गरिएको थियो । तर त्यसका लागि १ लाख ३५ हजार ७ सय ४१ जनाले आवेदन दिएका छन् । 

आवेदन भर्नेमा सबैभन्दा बढी महिला रहेका छन । ८६ हजार ७ सय ९५ जना महिलाले आवेदन दिएका छन भने ५९ हजार ४६ पुरुषको आवेदन रहेको छ । तथ्यांक कार्यालयले उक्त आवेदनको केही दिनमै सर्टलिस्ट गर्नेछ । छनौट भएका कर्मचारीले ७५ दिनसम्म काम गर्न पाउनेछन् । 

नेपालको इतिहासमा यो आर्थिक गणना दोस्रोपटक हो । पहिलोपटक २०७५ सालमा भएको थियो । शुरुवाती चरणमा पाँच वर्षमा गणना गर्ने भनिएपनि कोभिड तथा विभिन्न आन्तरिक कारणले धकेलीएर झण्डै ८ वर्ष पछि दोस्रो गणना हुन लागेको हो  । 

चालु  आर्थिक वर्ष २०८२/०८३ मा आर्थिक गणनाका लागि  ६६ करोड रुपैयाँ बजेट विनियोजन भएको छ भने   आगामी आव २०८३/०८४ को लागि १९ करोड  रुपैयाँ बजेट छुट्याइएको  छ । यो वर्ष फारम संकलनको काम मात्र हुनेछ भने  आगामी वर्ष लगत प्रशोधन, तालिका बनाउने,  प्रतिवेदन लेखन र वित्तरणको काम  हुनेछ ।

 आर्थिक गणनाका लागि भर्ना गरिएका करारका कर्मचारीको सेवा सुविधाका लागि करिब ४० करोड रुपैयाँ  हाराहारी बजेट खर्च हुने तथ्यांक कार्यालयले जनाएको छ । कार्यालयका प्रवक्ता ढुण्डीराज लामिछानेका अनुसार गणनाका लागि देशैभरी कार्यालय खडा गरिनेछ । 

आर्थिक गणना विशेष गरी आर्थिक गतिविधि (व्यापार, व्यवसाय, उद्योगभन्दा) मा केन्द्रित रहेर हुनेछ । यसले देशको औपचारिक अर्थतन्त्र र अनौपचारिक अर्थतन्त्रको तथ्यांक ल्याउन मदत गर्नेछ । औपचारीक अर्थतन्त्रका लागि दिनुपर्ने सेवा सुविधाको एकिन हुने, कमी कमजोरी पत्ता लाग्ने र सोही बमोजिम सरकारलाई अगाडी काम गर्न सहज हुने भएकाले तथ्यांकको आवश्यक देखिएको कार्यालयले बताएको छ । यसैगरी अनौपचारीक अर्थतन्त्र पनि पत्ता लाग्ने र त्यसलाई औपचारिकतातर्फ ल्याउन गणनाले मदत पुग्ने विश्वास लिइएको छ ।