शुक्रबार ०१ फागुन, २०८२

गोदावरीमा संचालनमा आयो अन्तर्राष्ट्रिय स्तरको बेस्ट वेस्टर्न प्लस रिसोर्ट, २ अर्ब लगानी

गोदावरीमा संचालनमा आयो अन्तर्राष्ट्रिय स्तरको बेस्ट वेस्टर्न प्लस रिसोर्ट, २ अर्ब लगानी

ललितपुर । ललितपुरको गोदावरीमा गोदावरी फरेस्ट होटल लिमिटेडले अन्तर्राष्ट्रिय स्तरको रिसोर्ट संचालनमा ल्याएको छ । शान्त र हरियाली वातावरणबीच बेस्ट वेस्टर्न प्लस गोदावरी रिसोर्ट संचालनमा आएको हो । बेस्ट वेस्टर्न प्लस अन्तर्राष्ट्रिय व्रान्ड हो ।

विहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिल कुमार सिन्हाले एक भव्य समारोहबीच रिसोर्टको औपचारिक उद्घाटन गरे । काठमाडौंको तिलगंगापछि गोदावरीमा दोस्रो ब्राण्ड संचालनमा आएको हो ।

रिसोर्टका जनरल म्यानेजर अरविन्द्र केसीका अनुसार वन क्षेत्रको बीचमा अवस्थित रिसोर्टमा ८३ वटा आकर्षक कोठा तथा सुइटहरू छन् । एक्जिक्युटिभ सुइटदेखि हरियाली दृश्य कोठासम्म पुग्छन् । आधुनिक प्रविधिले सुसज्जित रिसोर्टको विशेषता केवल सुविधा मात्र नभई स्थानीय सांस्कृतिक सौन्दर्य र आधुनिक डिजाइनमा तयार गरिएको छ ।

केसीका अनुसार रिसोर्ट संचालनका लागि प्रारम्भिक लगानी दुई अर्ब रहेको र थप विस्तारको तयारी भइरहेको छ । व्यवस्थापनले भावी दिनमा क्यासिनो पनि संचालन गर्ने तयारी गरेको छ । सुविधा सम्पन्न रिसोर्टबाट काठमाडौं उपत्यकाको दृश्य, बिहानको ताजा हावा र साँझको सुनौलो घामले पाहुनालाई शहरी कोलाहलबाट टाढा ल्याएर प्रकृतिसँग जोड्ने प्रयास गर्ने केसीले जानकारी दिए ।

रिसोर्टको सिग्नेचर रुफटप रेष्टुरेन्टमा बसेर सूर्यास्तसँगै डिनर गर्नु वा इन्फिनिटी पूलमा पौडी खेल्दै पहाडको दृश्य नियाल्न सकिने उनको भनाइ छ । रिसोर्टमा मुख्य रेष्टुरेन्ट, प्राइभेट डाइनिङ सुविधा, खुला भोजन स्थल र अन्तर्राष्ट्रिय तथा स्थानीय परिकारको संयोजनले खानपानलाई पनि गन्तव्यको आकर्षण बनाएको छ ।

आराम खोज्ने पाहुनाका लागि विश्वस्तरीय स्पा, साउना, स्टीम, फिटनेस सेन्टर र सैलुन सेवा उपलब्ध छन् । शारीरिक विश्राम मात्र होइन, मानसिक शान्तिको अनुभव दिनु पनि रिसोर्टको उद्देश्य रहेको गोदावरी फरेस्ट होटेलका अध्यक्ष विजय मल्ल बताउँछन् ।

केवल विश्रामका लागि मात्र होइन, रिसोर्ट कर्पोरेट बैठक, सम्मेलन, सामाजिक समारोह तथा वैवाहिक कार्यक्रमका लागि पनि उपयुक्त स्थलका रूपमा विकास गरिएको छ । तीन अत्याधुनिक हल र बोर्ड मिटिङ कक्षले व्यावसायिक कार्यक्रमलाई सहज बनाउने अपेक्षा गरिएको छ ।

फुलचोकी डाँडाको फेदीमा अवस्थित गोदावरी पछिल्लो समय पर्यावरणीय र धार्मिक पर्यटनको केन्द्र बन्दै गइरहेको बेला भब्य रिसोर्टको सुभारम्भ भएको हो । गोदावरी फरेस्ट होटल लिमिटेडका अध्यक्ष मल्ल यसलाई काठमाडौँ उपत्यकाको आतिथ्य क्षेत्रमा ऐतिहासिक क्षण भएको प्रतिक्रिया दिन्छन् ।

‘हामी व्यक्तिगत सेवा, विलासी सुविधा र नेपाली आतिथ्यताको आत्मीयता सहित विश्वस्तरीय अनुभव प्रदान गर्न प्रतिबद्ध छौं ।’बेस्ट वेस्टर्न इन्टरनेशनलसँगको साझेदारीले अन्तर्राष्ट्रिय रिजर्भेसन नेटवर्क र लोयल्टी सदस्यहरूसम्म पहुँच विस्तार गर्ने विश्वास कम्पनीले व्यक्त गरेको छ ।

रिसोर्टले पहिलो तीन महिनाभित्र बुकिङ गर्ने पाहुनाका लागि २० प्रतिशत छुट र निःशुल्क ब्रेकफास्टको योजना ल्याएको छ ।