राजस्व संकलनमा चुक्यो सरकार, ७ महिनामा ६ खर्ब ६९ अर्ब उठ्दा भन्सार र गैर–कर राजस्वमा गिरावट
काठमाडौं – आर्थिक बर्ष २०८२-८३ को माघ मसान्तसम्म ७ महिनामा ६ खर्ब ६९ अर्ब ३२ करोड राजश्व संकलन भएको छ ।
माघ मसान्तसम्म ७ महिनामा ८ खर्ब १३ अर्ब ६३ करोडको लक्ष्य रहेकोमा ८२. २६ प्रतिशत संकलन भएको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।
त्यस्तै माघ महिनाको लक्ष्य एक खर्ब २ अर्ब ४२ करोड रहेकोमा ८७ अर्ब ९२ करोड राजश्व संकलन भएको छ, जुन ८५.८४ प्रतिशत हो । अघिल्लो आर्थिक बर्षमा माघ महिनामा ८३ अर्ब ५१ करोड राजश्व संकलन भएको थियो ।
आर्थिक बर्ष २०८२-८३ को कुल राजश्व संकलन लक्ष्य भने १४ खर्ब ८० अर्ब रहेको छ भने ७ महिनामा ६ खर्ब ६९ अर्ब ३२ करोड संकलन भएको छ ।
भन्सार महसुलतर्फ १ खर्ब ३५ अर्ब ३२ करोड रुपैयाँ मात्र सङ्कलन भएको छ । माघ मसान्तसम्म सरकारले भन्सार महसुलतर्फ १ खर्ब ७० अर्ब ५० करोड रुपैयाँ सङ्कलन गर्ने लक्ष्य राखेको थियो । यो लक्ष्यको ७९.३७ प्रतिशत मात्र हो ।
मूल्य अभिवृद्धि कर (भ्याट) तर्फको सङ्कलनमा पनि ७.६३ प्रतिशतको वृद्धि देखिएको छ । समीक्षा अवधिसम्म २ खर्ब १७ अर्ब २१ करोड रुपैयाँको लक्ष्य राखिएकोमा १ खर्ब ९६ अर्ब रुपैयाँ सङ्कलन भएको छ ।
अन्तःशुल्क सङ्कलनमा दोहोरो अंकको सुधार देखिएको छ । गत वर्षको माघ मसान्तसम्म ९५ अर्ब ९ करोड रुपैयाँ सङ्कलन भएकोमा यस वर्ष १०.८८ प्रतिशतले वृद्धि भई १ खर्ब ५ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ ।
आयकर र अन्य राजस्व (गैर-कर) मा भने गिरावट देखिएको छ । आयकर तर्फ गत वर्ष माघ मसान्तसम्म १ खर्ब ५९ अर्ब ९६ करोड रुपैयाँ सङ्कलन भएकोमा यस वर्ष ०.८१ प्रतिशतले घटेर १ खर्ब ५४ अर्ब ६६ करोड रुपैयाँ मात्र सङ्कलन भएको छ । आयकरको लक्ष्य २ खर्ब २० अर्ब ७ करोड ५४ लाख रुपैयाँ थियो ।
त्यसैगरी, गैर-कर राजस्वतर्फ गत वर्ष ७७ अर्ब २१ करोड ३ लाख रुपैयाँ सङ्कलन भएकोमा यस वर्ष १५.८१ प्रतिशतले घटेर ६५ अर्ब ९ करोड ३ लाख रुपैयाँ मात्र सङ्कलन भएको छ । गैर-कर राजस्वको लक्ष्य ८७ अर्ब १० करोड ८७ लाख रुपैयाँ रहेको थियो ।
शिक्षा सेवा शुल्क र अन्य साना शीर्षकमा भने उत्साहजनक वृद्धि देखिएको छ । यस शीर्षकमा गत वर्ष २ अर्ब १४ करोड रुपैयाँ सङ्कलन भएकोमा यस वर्ष ६१.०७ प्रतिशतले वृद्धि भई ३ अर्ब ४४ करोड ७५ लाख रुपैयाँ पुगेको छ ।
अर्कोतिर आन्तरिक राजस्व विभागले ३ खर्ब २० अर्ब रुपैयाँ सङ्कलन गरेको छ, जसमा ४.२१ प्रतिशतको वृद्धि देखिएको छ । आन्तरिक राजस्वलाई यो अवधिमा ३ खर्ब ९४ अर्ब १२ करोड उठाउने लक्ष्य दिइएको थियो । यो राजस्व सङ्कलन लक्ष्यको ८१.३६ प्रतिशत हुन आउँछ ।
