सम्भव सिरोहियाको घरमा तोडफोड गरेको अभियोगमा ५ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौँ । काठमाडौँको मण्डिखाटारस्थित सम्भव सिरोहियाको घरमा तोडफोड, आगजनी र लुटपाट गरेको अभियोगमा ५ जना विरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता भएको छ ।
सिरोहियाले दिएको जाहेरी र प्रहरी प्रतिवेदन अनुसार लुटपाट र आगजनीबाट करिब १४ करोड ६४ लाख रुपैयाँ बराबरको क्षति भएको छ । उक्त लुटपाटमा पाँच जनाविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता भएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले काठमाडौँका ३५ वर्षीय सुजन डंगोल, ३५ वर्षीय विवेक थापा, धादिङका ३३ वर्षिय गोपाल थापा, गोरखाका २५ वर्षिय रोजिस घिमिरे र धनकुटाको महालक्ष्मी नगरपालिका ३ का ३० वर्षीय प्रज्ज्वल रोगु विरुद्ध 'अपराधिक उपद्रव तथा चोरी' सम्बन्धी कसुरमा मुद्दा दर्ता भएको छ ।
गत भदौ २४ को 'जेन्जी आन्दोलन' को बहानामा अराजक समूहले सिरोहियाको घरमा प्रवेश गरी तोडफोड र आगजनी गरेका थिए । दिउँसो करिब १ बजेदेखि राति १० बजेसम्मको समयमा आन्दोलनकारीको एक समूहले काठमाडौं-४ मण्डिखाटारस्थित सम्भव सिरोहियाको निवासलाई निशाना बनाएका थिए ।
भिडले घरको कम्पाउण्डभित्र प्रवेश गरी त्यहाँ पार्क गरिएका विलासी सवारी साधनहरूमा आगो लगायो । आगजनीबाट बा.प्र.०१-०३० च ०५१४ नम्बरको डिपल, बा १७ च ५६७८ नम्बरको ज्यागुअर, प्र.३-०१-०२३ च २२३ नम्बरको ह्युन्डाई र बा.प्र.०३-००१ च ०४४४ नम्बरको ल्याण्ड रोभर डिस्कभरी कार पूर्ण रूपमा जलेर नष्ट भएका थिए ।
अभियोगपत्र अनुसार सिरोहियाको घरबाट ३५ तोला सुन, २० थान चाँदीका गहना, र ३१ केजी चाँदीका सिक्काहरू लुटिएका थिए । त्यस्तै घरायसी सामानमा ८ थान सोफा सेट, डाइनिङ टेबल, ल्यापटप, क्यामरा र बहुमूल्य फर्निचरहरू लुटपाट भएको थियो ।
अनुसन्धानका क्रममा प्रहरीले अभियुक्तहरूको कोठाबाट ठूलो परिमाणमा चाँदीका सिक्काहरू बरामद गरेको थियो । जसमा ऐतिहासिक 'एडवर्ड VII' अंकित सिक्का, विभिन्न देशका मुद्रा, सुन जस्तो देखिने मुन्द्रा, झुम्का र क्यामराहरू रहेका छन् । बरामद भएका करिब १८ किलो चाँदीका सिक्काहरू र अन्य गहनाहरू अभियुक्तहरूले सिरोहियाको घरबाटै लुटेको स्वीकार गरेका छन् ।
लुटपाटमा संलग्न समूहले चाँदीका सिक्काहरू आपसमा बाँडेका थिए । अभियोगपत्र अनुसार, उनीहरूले लुटिएका मध्ये करिब १८ किलो चाँदीका सिक्काहरू लुकाउन नसकेपछि चक्रपथ युवा क्लबका अध्यक्ष विकास गुरुङमार्फत प्रहरीलाई बुझाएका थिए। तर, बाँकी सिक्का र बहुमूल्य वस्तुहरू उनीहरूले आ-आफ्नो डेरामा लुकाएर राखेका थिए।
प्रहरीको अनुसन्धान टोलीले पक्राउ परेका प्रतिवादीहरूको कोठा खानतलासी गर्दा लुटिएका सामानहरू बरामद गरेको छ । प्रहरीले सुजन डंगोलको कोठाबाट ‘कान्तिपुर’ लेखिएको चाँदीको सिक्का १३ थान, राधाकृष्णको चित्र भएको सिक्का, र अन्य ऐतिहासिक सिक्काहरू समेत बरामद गरेको छ ।
यस्तै, गोपाल थापाको कोठाबाट ‘कान्तिपुर’ लेखिएको चाँदीका ३३ थान सिक्का, जर्ज भाइकिङ इम्पेरर, भिक्टोरिया एम्प्रेस लेखिएका पुरातात्विक महत्वका चाँदीका सिक्काहरू र चाँदीको लकेट बरामद गरेको छ।
यसका अलावा प्रहरीले विवेक थापाको कोठाबाट ‘कान्तिपुर’ लेखिएका ४०४ थान चाँदीका सिक्काहरू, सोनीको ह्यान्डी क्याम, र विभिन्न प्रकारका धातुका गरगहनाहरू तथा प्रज्वल रोगुको कोठाबाट निकोनको क्यामेरा बरामद गरेको थियो ।
प्रतिवादी बनाइएका रोजिस घिमिरेले लुटिएको चाँदी भएको जानीजानी सामान खरिद गरेर १० तोला बराबरको चाँदीको सिक्का पगालेर ३ वटा सिक्री बनाएको स्वीकार गरेका छन् । लुटपाटमा संलग्न विवेक थापाको बयानका आधारमा प्रहरीले घिमिरेको सुन चाँदी पसल खनतलासी गर्दा ९ वटा सिक्का बरामद गरेको थियो ।
सरकारी वकिल कार्यालयले प्रतिवादीहरू सुजन डंगोल, विवेक थापा, गोपाल थापा र प्रज्वल रोगुलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २८५ (आपराधिक उपद्रव) र दफा २४१ चोरी अन्तर्गत कारबाहीको माग गरेको छ ।
दफा २८५ (३) (घ) बमोजिम आगजनी गरी आपराधिक उपद्रव गरेको कसुरमा ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना अनि दफा २४२ (२) बमोजिम चोरी कसुरमा तीन ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना माग गरिएको छ ।
त्यस्तै, चोरीको सामान किन्ने/राख्ने रोजिस घिमिरेलाई दफा २४६ (क) बमोजिम कसुर गरेको ठहर गर्दै दफा २४२ (२) बमोजिम ३ वर्ष कैद र ३० हजार जरिवाना माग गरिएको छ ।
