यूएई अध्ययनको नाममा करोडौँ ब्रह्मलुट : ५ कन्सल्टेन्सी सञ्चालक कारागार चलान, एक फरार
काठमाडौं । वैदेशिक अध्ययनका लागि यूएई पठाइदिने भन्दै विद्यार्थीसँग लाखौँ रुपैयाँ असुलेर ठगी गरेको आरोपमा पक्राउ परेका पाँच जना शैक्षिक परामर्शदाता (कन्सल्टेन्सी सञ्चालक) कारागार चलान भएका छन् ।
उनीहरुलाई काठमाडौं जिल्ला अदालतले आइतबार पुर्पक्षका लागि कारागार चलान गरेको हो । जिल्ला अदालत काठमाडौंका न्यायाधीश नारद प्रसाद भट्टराईको एकल इजलासले उनीहरुलाई केन्द्रीय कारागार सुन्धारा चलान गरेको हो ।
कारागार चलान हुनेमा बेस्ट पाथ एजुकेसन प्रालिका सञ्चालक कृष्ण थापा, मर्सी एजुकेसन कन्सल्टेन्सीका सञ्चालक रामचन्द्र टण्डन, कान्तिपुर अब्रोड एजुकेसनका मालिक दामोदर ढकाल, सोही कम्पनीका हेमराज भट्ट, सिटीहब एजुकेसनका नेटवर्कका सुवास सिलवाल क्षेत्री रहेका छन् । कान्तिपुर अब्रोड एजुकेसनका मालिक ठाकुरप्रसाद ढुंगानालाई भने फरार प्रतिवादी बनाएर अभियोग पत्र दायर गरिएको छ ।
मर्सि एजुकेसनकी अर्की सञ्चालक प्रविना रावल पनि फरार सूचीमा छिन् । उनलाई पनि फरार सूचीमा राखेर अभियोग पत्र दर्ता भएको छ । विद्यार्थीलाई यूएईका प्रतिष्ठित कलेजमा भर्ना गराउने र त्यहाँबाट फ्रान्स तथा अष्ट्रेलियाका विश्वविद्यालयहरूमा ‘क्रेडिट ट्रान्सफर’ गर्न मिल्ने प्रलोभन देखाई ठगी गरेको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको थियो । केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठका अनुसार आइतबार जिल्ला अदालतले उनीहरुलाई पुर्पक्षका लागि कारागार चलान गरेको हो ।
विद्यार्थीलाई यूएईको उच्च शिक्षा मन्त्रालय तथा ‘कमिसन फर एकेडेमिक एक्रिडिटेसन’बाट स्वीकृति नै नलिएका तालिम केन्द्रहरूमा पठाउने गरेको थियो । उनीहरूले प्रतिव्यक्ति ८ लाखदेखि २२ लाख रुपैयाँसम्म रकम लिई विद्यार्थीलाई झुक्याएको प्रहरीले जनाएको छ। हालसम्म १३ जना पीडितले दिएको जाहेरीका आधारमा काठमाडौं जिल्ला अदालतबाट अनुमति लिई उनीहरूलाई पक्राउ गरिएको थियो ।
