सोमबार ०४ फागुन, २०८२

चुनावको मुखमा नक्कली नोटको बिगबिगी : कसरी जोगिने ?

चुनावको मुखमा नक्कली नोटको बिगबिगी : कसरी जोगिने ?

काठमाडौं । देशका विभिन्न जिल्लाबाट पछिल्ला दिनमा नक्कली नोटसहित व्यक्तिहरू पक्राउ पर्ने क्रम बढ्दो छ । यसले बजारमा जाली नोटको परिसञ्चरण अझै व्यापक हुनसक्ने संकेत दिएको छ ।

गत माघ २२ गते सुनसरीको हरिनगर गाउँपालिका–१ बाट एक हजार दरका २८ थान नक्कली नोटसहित इनरुवा नगरपालिका–१० निवासी २५ वर्षीय बहिस मिया पक्राउ परेका थिए । त्यसअघि काठमाडौंको गोकर्णेश्वर–८ अत्तरखेल चोकबाट एक हजार दरका ७६ थान नक्कली नोटसहित ६ जनाको समूहलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीका अनुसार यस्ता घटना सार्वजनिक भएकाभन्दा बाहिर पनि जाली नोट बजारमा घुमिरहेको हुनसक्छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा देशभर चुनावी गतिविधि तीव्र बनेका छन् । राजनीतिक दलका सभा, र्‍याली र प्रचारप्रसारसँगै नगद खर्चको मात्रा पनि बढ्दो छ । यही अवस्थालाई आपराधिक समूहले अवसरका रूपमा प्रयोग गर्ने गरेका छन् ।

चुनावी भीडभाड र नगद कारोबारको जोखिम

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रामेश्वर कार्कीका अनुसार निर्वाचनको समयमा सुरक्षाकर्मीको ध्यान मुख्यतः शान्ति–सुरक्षा र चुनावी व्यवस्थापनतर्फ केन्द्रित हुन्छ । “चुनावका बेला ठूलो मात्रामा नगद साटासाट हुन्छ । मानिसहरू हतारमा नोटको सूक्ष्म परीक्षण गर्न सक्दैनन् । यही मौकामा जाली नोट चलाउने समूह सक्रिय हुन्छ,” उनले बताए ।

उनका अनुसार सीमावर्ती क्षेत्र, बढी आर्थिक कारोबार हुने बजार, हाटबजार, पेट्रोल पम्प तथा भीडभाड हुने स्थानहरू जाली नोट कारोबारीको मुख्य निशानामा पर्ने गरेका छन् । प्रहरीले यस्ता संवेदनशील स्थानमा निगरानी र सर्च अपरेसन तीव्र बनाएको जनाएको छ । शंकास्पद नोट फेला परे तुरुन्तै नजिकको प्रहरी कार्यालयमा जानकारी दिन उनले आग्रह गरे । जाली नोट थाहा पाएर पनि लुकाउनु वा चलाउनु कानुनी अपराध हुने उनले स्पष्ट पारे ।

मुलुकी अपराध संहिताअनुसार नक्कली नोट उत्पादन, ओसारपसार वा कारोबार गर्ने व्यक्तिलाई कसुरको प्रकृतिअनुसार ५ देखि १० वर्षसम्म कैद र १ लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था छ ।

अर्थतन्त्रमा असर

नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले जाली नोटको कारोबारलाई अर्थतन्त्रका लागि गम्भीर चुनौतीको रूपमा व्याख्या गरेका छन् । “बजारमा नक्कली नोट बढ्नु भनेको मुद्राको विश्वसनीयतामा धक्का पुग्नु हो । यसले मुद्रास्फीति र सर्वसाधारणको आर्थिक सुरक्षामा असर पार्छ,” उनले बताए ।

राष्ट्र बैंकले वित्तीय साक्षरता कार्यक्रममार्फत नागरिकलाई सचेत गराउँदै आएको भए पनि पछिल्लो समय आधुनिक प्रविधि प्रयोग गरी सक्कली जस्तै देखिने नोट तयार पार्ने प्रयास बढेको उनको भनाइ छ । कानुनी रूपमा कुनै नोट नक्कली हो वा होइन भन्ने अन्तिम निर्णय गर्ने अधिकार बैंक तथा वित्तीय संस्थालाई मात्र हुने उनले बताए ।

सक्कली–नक्कली नोट छुट्याउने उपाय

प्रवक्ता पौडेलका अनुसार नोट पहिचानका लागि ‘हेर्ने, छाम्ने र ढल्काउने’ मुख्य विधि अपनाउन सकिन्छ ।

१. उज्यालोतर्फ हेरेर परीक्षण

नोटलाई उज्यालोमा हेर्दा लालीगुराँसको स्पष्ट पानीछाप (वाटरमार्क) देखिनुपर्छ । एक हजार दरको नोटमा अगाडि–पछाडिका अङ्क मिलेर १००० स्पष्ट देखिन्छ । ५०० र १०० दरका नोटमा ‘NRB’ अक्षर देखिन्छ ।

२. छामेर परीक्षण

सक्कली नोट विशेष कटन कागजबाट बनेको हुन्छ । गभर्नरको हस्ताक्षर र ‘नेपाल राष्ट्र बैंक’ लेखिएको भाग छाम्दा अलि उठेको महसुस हुन्छ । दृष्टिविहीन व्यक्तिका लागि १ हजार दरमा ‘M’ अक्षर, ५०० मा दुई थोप्ला र १०० मा एक थोप्ला उठाइएको हुन्छ ।

३. ढल्काएर परीक्षण

एक हजार दरको नोट ढल्काउँदा सुरक्षा धागोको रङ परिवर्तन भई ‘NRB’ स्पष्ट देखिन्छ । ५०० र १००० दरका नोटमा केही चित्र ढल्काउँदा चम्किलो प्रभाव देखिन्छ ।

४. यूभी लाइट प्रयोग

यूभी लाइटमा राख्दा सक्कली नोटमा सगरमाथाको चित्र र नोट नम्बर चम्किलो देखिन्छ । नक्कली नोटमा यस्तो गुण हुँदैन । निर्वाचनको समयमा मात्र नभई सधैं सचेत रहनुपर्नेमा प्रहरी र राष्ट्र बैंक दुवैले जोड दिएका छन् । नागरिकको सचेतता र सुरक्षाकर्मीको सक्रियता मिलेर मात्र जाली नोटको जोखिम न्यूनीकरण गर्न सकिने उनीहरूको भनाइ छ ।