सूर्यज्योति लाइफको वित्तीय अवस्था मजबुत : नाफा बढ्यो, प्रतिशेयर आम्दानी कति ?
काठमाडौँ । सूर्यज्योति लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा २० करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.९२ प्रतिशत बढी हो ।
गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले १९ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। समीक्षा अवधिमा इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क १४.६३ प्रतिशतले बढेर ५ अर्ब ७१ करोड २ लाख रुपैयाँ पुगेको छ भने कुल आम्दानी १०.०३ प्रतिशत बढेर ७ अर्ब ७० करोड २१ लाख रुपैयाँ पुगेको छ ।
त्यस्तै, इन्स्योरेन्सको कुल दाबी भुक्तानी ११.३४ प्रतिशतले बढेर ६ अर्ब २७ करोड ८२ लाख रुपैयाँ पुगेको छ भने कुल खर्च १०.७४ प्रतिशतले बढेर ७ अर्ब ३५ करोड ४१ लाख रुपैयाँ पुगेको छ ।
नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि सामान्य बढेको छ । समीक्षा अवधिमा इन्स्योरेन्सको प्रतिशेयर आम्दानी २३ पैसा बढेर ८ रुपैयाँ ६ पैसा पुगेको छ । पुस मसान्तसम्ममा इन्स्योरेन्सको प्रतिशेयर नेटवर्थ १२३ रुपैयाँ ३३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ५५.६९ गुणा रहेको छ ।
चुक्ता पूँजी ५ अर्ब १ करोड रुपैयाँ रहेको यस इन्स्योरेन्सको महाविपत्ती कोषमा ४४ करोड २ लाख रुपैयाँ, रिटन्ड अर्निङ्गमा ४५ करोड २९ लाख रुपैयाँ र अन्य इक्विटीमा २७ करोड ६० लाख रुपैयाँ सञ्चित छ।
