सोमबार ०४ फागुन, २०८२

उपदान र पेन्सन कोषको ९ अर्ब ३५ करोड मुद्दती निक्षेपमा लगानी गर्दै केन्द्रीय बैंक

उपदान र पेन्सन कोषको ९ अर्ब ३५ करोड मुद्दती निक्षेपमा लगानी गर्दै केन्द्रीय बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले राष्ट्र बैंकको उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्ने भएको छ । राष्ट्र बैंकले सोमबार एक सूचना जारी गर्दै उपदान तथा पेन्सन कोषमा रहेको ९ अर्ब ३५ करोड रकम मुद्दती निक्षेपको रुपमा लिन चाहेने बैंक वित्तीय संस्थाहरुलाई शर्तहरु बमोजिम आवेदन दिन आह्वान गरेको छ । 

आवेदन २०८२ फागुन १० गते बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म पेश गर्न सकिनेछ। वाणिज्य बैंकका लागि ७ अर्ब ४८ करोड रुपैयाँ, विकास बैंकका लागि १ अर्ब ४० करोड २५ लाख रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीहरूका लागि ४६ करोड ७५ लाख रुपैयाँ विनियोजन गरिएको छ। निक्षेप लिन चाहने संस्थाको कुल कर्जा पोर्टफोलियोमा निष्क्रिय कर्जा ९एनपीएल० ८ प्रतिशतभन्दा बढी हुन नहुने शर्त राखिएको छ।

यसका अतिरिक्त, सम्बन्धित बैंक वा वित्तीय संस्था कम्तीमा दुई वर्षदेखि सञ्चालनमा रहेको, तोकिएको न्यूनतम कुल पुँजीकोष कायम गरेको, निर्धारण गरिएको खुद तरल सम्पत्ति अनुपात र कर्जा–निक्षेप अनुपात सीमा भित्र रहेको हुनुपर्नेछ। पछिल्लो आर्थिक वर्षको नाफा–नोक्सान विवरणअनुसार खुद मुनाफामा रहेको र यदि शीघ्र सुधारात्मक कारबाहीमा परेको भए फुकुवा भएको कम्तीमा ६ महिना पूरा भएको हुनुपर्ने सर्त छ।

साथै, नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ ख बमोजिम समस्याग्रस्त घोषणा नभएको वा घोषणा भएको अवस्थामा फुकुवा भएको ६ महिना नाघिसकेको हुनुपर्ने, र सर्वसाधारणका लागि छुट्याइएको सेयर जारी गरिसकेको हुनुपर्ने प्रावधान पनि तोकिएको छ।