भुगर्भ सिमेन्टको व्यापार २० प्रतिशतले बढ्यो, १ अर्ब ६७ करोडको कारोबार
काठमाडौं। भूगर्भ सिमेन्ट लिमिटेडले सन् २०२५ मा आफ्नो सिमेन्ट तथा क्लिंकर उत्पादनको क्षमता प्रभावकारी रूपमा उपयोग गर्दै बार्षिक कारोबार करिब १ अर्ब ६७ करोड रुपैयाँ पुर्याएको छ। सन् २०२४ को तुलनामा कम्पनीको कारोबार २० प्रतिशतले बढेको छ । यो वृद्धि सिमेन्ट उद्योगमा भूगर्भ सिमेन्टको स्थिर वृद्धि र दीगो सञ्चालन क्षमताको प्रमाण हो।
कम्पनीले ऋणी रकम घटाएर आफ्नो सञ्चालन सुधार गरेको छ भने गियरिङ अनुपातमा पनि उल्लेखनीय सुधार आएको छ। यद्यपि उच्च ऋण, लामो सञ्चालन चक्र र कच्चा पदार्थ मूल्य अस्थिरताले नाफामा दबाब पर्ने जोखिम अझै कायम छ। आगामी दिनमा आधुनिक रोटरी प्लान्ट स्थापना र उत्पादन क्षमता वृद्धि गर्दै कम्पनीले दीगो र गुणस्तरीय उत्पादनमा जोड दिने योजना बनाएको छ।
कियर रेटिङ्स नेपालका अनुसार भूगर्भ सिमेन्टले सन् २०२५ मा १ अर्ब ६७ करोड रुपैयाँभन्दा बढीको कारोबार गरेको छ। सन् २०२४ को तुलनामा यस वर्ष कम्पनीको व्यापार २० प्रतिशतले बढेको छ। सिमेन्ट तथा क्लिंकर प्लान्टको क्षमता उपयोग ५२ प्रतिशतबाट ६६ प्रतिशतमा पुगेको छ भने कुल सञ्चालन आम्दानी करिब २० प्रतिशतले बढेको छ। कम्पनीले सो अवधिमा ३ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको छ।
कम्पनीले ऋणी रकम घटाएर सञ्चालन सुधार गरेको छ, जसले गियरिङ अनुपात ४.९० गुणाबाट घटाएर ३.६२ गुणामा ल्याउन सहयोग पुर्याएको छ। तर, पूँजी संरचना अझै उच्च ऋणमा आधारित रहेको, सञ्चालन चक्र १६७ दिनसम्म लम्बिएको र कच्चा पदार्थको मूल्य अस्थिरताले नाफामा दबाब पर्ने जोखिम भने कायम रहेको छ।
सन् २०१६ मा स्थापना भएको भूगर्भ सिमेन्ट सन् २०८० असार ७ गते पब्लिक कम्पनीमा परिणत भएको हो। कम्पनीसँग लुम्बिनीको तीनपाने क्षेत्रमा दैनिक ३,२०० मेट्रिक टन क्षमताको चुनढुंगा खानी र शिवराज, कपिलवस्तुमा सिमेन्ट कारखाना छ। कम्पनीले दैनिक ७ सय मेट्रिक टन सिमेन्ट र ३०० मेट्रिक टन क्लिंकर उत्पादन गर्दै आएको छ।
भूगर्भ सिमेन्टले आगामी दिनमा दैनिक उत्पादन क्षमता १,५०० मेट्रिक टन सिमेन्ट र ३०० मेट्रिक टन क्लिंकर पुर्याउने योजना बनाएको छ। साथै, आधुनिक रोटरी प्लान्ट स्थापना गर्दै ८००–१००० टन क्षमताको क्लिंकर उत्पादन गर्ने लक्ष्य राखेको छ। कम्पनीले गुणस्तरीय उत्पादन, प्रदूषण नियन्त्रण र दीगो औद्योगिक विस्तारमा जोड दिएको छ।
कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ४ अर्ब रुपैयाँको रेटिङ गराएको छ। कम्पनीले दीर्घकालीन कर्जाका लागि ३ अर्ब ४ करोड ७ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ९५ करोड ९२ लाख रुपैयाँको रेटिङ गराएको हो ।
CARE रेटिङ्स नेपाल लिमिटेड (CRNL) ले भुगर्भ सिमेन्ट लिमिटेड (BCL) को इश्यूअर रेटिङ ‘CARE-NP B+ (Is)’ बाट ‘CARE-NP BB- (Is)’ मा सुधार गरेको छ। यस रेटिङको आधारमा कम्पनीले आफ्नो वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमता मध्यम जोखिम स्तरको रहेको मानिन्छ।
साथै, CRNL ले BCL का दीर्घकालीन बैंक सुविधा रेटिङलाई ‘CARE-NP B+’ बाट ‘CARE-NP BB-’ मा सुधार गरेको छ भने छोटो अवधिका बैंक सुविधाको रेटिङ ‘CARE-NP A4’ कायम गरेको छ।
रेटिङ सुधारको मुख्य कारण कम्पनीको वित्तीय स्थितिमा सुधार, सिमेन्ट र क्लिंकर प्लान्टको क्षमता उपयोगमा वृद्धि, ऋणी रकममा उल्लेखनीय कमी र गियरिङ तथा ऋण सेवा सूचकको मजबुत स्तर रहेको देखाइएको छ।
कम्पनीले हालको चुक्ता पुँजी ५० करोड ५० लाख रुपैयाँबाट हकप्रदमार्फत ८० करोड ८० लाख रुपैयाँ पुर्याएको छ। त्यसपछि साधारण शेयर जारी गरी चुक्ता पुँजी एक अर्ब रुपैयाँ नजिक पुर्याउने योजना अघि बढाइरहेको छ।
भूगर्भ सिमेन्टले लुम्बिनी, गण्डकी, कर्णाली, सुदूरपश्चिम र काठमाडौं उपत्यकामा आफ्ना उत्पादनको बजार विस्तार गर्दै गुणस्तरीय सिमेन्ट उत्पादनमा अग्रणी रहँदै आएको छ। कम्पनीले “गर्भैदेखि बलियो” नारा आत्मसात् गर्दै दीगो र प्रतिस्पर्धात्मक उत्पादनमा जोड दिइरहेको छ।
