मंगलबार ०५ फागुन, २०८२

टी–२० विश्वकप : १२ वर्षदेखिको जितको खडेरी तोड्ने लक्ष्यसहित नेपाल आज स्कटल्यान्डसँग भिड्दै

टी–२० विश्वकप : १२ वर्षदेखिको जितको खडेरी तोड्ने लक्ष्यसहित नेपाल आज स्कटल्यान्डसँग भिड्दै

मुम्बई । आईसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत समूह सी को आफ्नो अन्तिम खेलमा नेपालले आज (मंगलबार) स्कटल्यान्डको सामना गर्दैछ। मुम्बईस्थित ऐतिहासिक वानखेडे स्टेडियममा नेपाली समयअनुसार साँझ ७ः१५ बजे सुरु हुने खेलमा नेपाल सान्त्वना जित निकाल्दै प्रतियोगिताको सुखद अन्त्य गर्ने लक्ष्यमा छ।

लगातार तीन खेलमा पराजय भोग्दै सुपर ८ को दौडबाट बाहिरिसकेको नेपालका लागि आजको खेल प्रतिष्ठाको लडाइँ मात्र हुनेछ। सन् २०१४ मा बंगलादेशमा भएको विश्वकपमा अफगानिस्तानलाई पराजित गरेयता नेपालले टी–२० विश्वकपका पछिल्ला दुई संस्करणमा कुनै पनि जित निकाल्न सकेको छैन। आज स्कटल्यान्डलाई हराउन सके नेपालले विश्वकपमा १२ वर्षदेखिको जितको खडेरी समाप्त गर्नेछ।

प्रतियोगिताको पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनको झिनो अन्तरले पराजित भएर आशा जगाएको नेपाल त्यसपछिका दुई खेलमा भने निकै निरीह देखियो। दोस्रो खेलमा डेब्युटान्ट इटालीसँग १० विकेट र तेस्रो खेलमा वेस्ट इन्डिजसँग ९ विकेटको भारी अन्तरले पराजित भएपछि नेपालको विश्वकप यात्रा समूह चरणमै सीमित भएको हो।

आईसीसी वरीयतामा स्कटल्यान्ड १४औँ र नेपाल १८औँ स्थानमा रहेका छन्। यी दुई टोलीबीच हालसम्म भएका तीन टी–२०आई खेलमध्ये स्कटल्यान्डले दुई र नेपालले एक खेल जितेका छन्।

नेपालको सम्भावित प्लेइङ–११ :

कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), रोहित पौडेल (कप्तान), आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, बसिर अहमद, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, नन्दन यादव, र सन्दीप लामिछाने।