मंगलबार ०५ फागुन, २०८२

पतञ्जलि जग्गा प्रकरण : माधव कुमार नेपालसहित ९३ जनाविरुद्धको मुद्दामा तोकियो पेसी

पतञ्जलि जग्गा प्रकरण : माधव कुमार नेपालसहित ९३ जनाविरुद्धको मुद्दामा तोकियो पेसी

काठमाडौं । पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसहित ९३ जनाविरुद्ध पतञ्जलि योगपीठको जग्गा हिनामिना र भ्रष्टाचार प्रकरणमा विशेष अदालतमा मुद्दा सुनुवाइका लागि पेसी तोकिएको छ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, न्यायाधीश हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासमा सुनुवाइ हुने तय भएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जेठ २२ गते नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो।

अख्तियारले नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो जरिवाना र सजाय माग गरेको छ। अभियोग अनुसार तत्कालीन प्रधानमन्त्रीको हैसियतमा नेपालले पदको दुरुपयोग गर्दै सरकारी सार्वजनिक सम्पत्ति व्यक्तिगत र संस्थागत स्वार्थमा हस्तान्तरण गराएको थियो।

नेपाल नेतृत्वको तत्कालीन मन्त्रिपरिषद्ले २०६६ फागुन ६ गतेको बैठकमा पतञ्जलिलाई हदबन्दीभन्दा बढी जग्गा कारोबारको स्वीकृति दिएको र २०६६ माघ १८ गते ठाडो आदेशमार्फत उक्त जग्गा बिक्री र सट्टापट्टा गराएको अभियोगपत्रमा उल्लेख छ।

यो प्रकरण अन्तर्गत ३१४ रोपनी १५ आना २ पैसा १ दाम जग्गा गैरकानुनी रूपमा बिक्री वा हिनामिना भएको भन्दै अख्तियारले ९३ जनाविरुद्ध मुद्दा दायर गरेको छ।