सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आईपीओ सर्वसाधारणमा समेत बाँडफाँट सम्पन्न
काठमाडौं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले सर्वसाधारण लगानीकर्तामा आईपीओ निष्कासन तथा बाँडफाँट सम्पन्न गरेको छ । कम्पनीले दुई चरणमा आईपीओ निष्कासन गरी बाँडफाँट समेत सम्पन्न गरेको हो । पछिल्लो चरणमा माघ १८ गतेदेखि २१ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओ फागुन ५ गते बाँडफाँट गरिएको हो ।
यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ निष्कासन गरी बाँडफाँट गरेको थियो ।
यस कम्पनीले आफ्नो जारी पूँजी ६८ करोड ९६ लाख ७४ हजार ४०० रुपैयाँको २० प्रतिशतले हुने १३ करोड ७९ लाख ३५ हजार रुपैयाँ बराबरको १३ लाख ७९ हजार ३५० कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।
जसमध्ये जारी पूँजीको १० प्रतिशतले हुने ६ लाख ८९ हजार ६७५ कित्ता आईपीओ आयोजना प्रभावित स्थानीयमा र ६८ हजार ९६७ कित्ता शेयर भने वैदेशिक रोजगारीमा रहेका नेपालीमा निष्कासन गरी बाँडफाँट गरिसकेको हो ।
यी बाहेक १३ हजार ७९३ कित्ता कर्मचारीहरूका लागि र ३४ हजार ४८४ कित्ता शेयर सामूहिक लगानी कोषहरूलाई सुरक्षित गरी बाँकी रहेको ५ लाख ७२ हजार ४३१ कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गरिएको थियो । जसमध्ये ५७ हजार २४३ जना आवेदकहरूमा यी शेयर बाँडफाँट गरिएको हो ।
न्यूनतम १० कित्ताका दरले गोलाप्रथाको माध्यमबाट आईपीओ बाँडफाँट गरी बाँकी रहेको १ कित्ता शेयर भने यी आवेदकहरूमध्येबाटै एक जनाले प्राप्त गरेका छन् । यसरी हेर्दा कम्पनीको आईपीओ एक जना आवेदकले भने ११ कित्तासम्म पाएका छन् ।
विक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेडले दिएको जानकारी अनुसार सर्वसाधारणमा जारी भएको आईपीओ खरीदका लागि २४ लाख ५२ हजार ६०२ जनाको आवेदन परेकोमा २४ लाख ११ हजार ९२२ जनाको आवेदन मात्र रितपूर्वक भएको छ ।
यस कम्पनीले नुवाकोट जिल्लामा ११ मेगावाट क्षमताको माथिल्लो तादी खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरेको छ । उक्त आयोजनाबाट गत साउन १२ गतेदेखि व्यापारिक उत्पादन हुँदै आएको छ ।
आयोजनाको कुल लागत २ अर्ब ३६ करोड ८४ लाख ४० हजार रुपैयाँ छ । यस आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र बहाल रहने अवधि २१०७ असोज २१ गतेसम्म छ ।
कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौंको थापाथलीस्थित ट्रेड टावरमा रहेको छ भने कारोबार गर्ने मुख्य स्थान नुवाकोट जिल्लामा रहेको छ ।
