शिखर पावर डेभलपमेन्ट लिमिटेडले फागुन १७ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गर्दै
काठमाडौं । शिखर पावर डेभलपमेन्ट लिमिटेडले फागुन १७ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गर्ने भएको छ । कम्पनीले कुल १८ लाख ४२ हजार ६ सय कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको जनाएको हो ।
निष्कासन हुने कुल शेयरमध्ये १ लाख ११ हजार कित्ता सामूहिक लगानी कोषका लागि र ४४ हजार ४०० कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ । बाँकी शेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।
नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू तथा तिनका तोकिएका शाखा कार्यालयमार्फत आईपीओमा आवेदन दिन सकिनेछ ।
साथै, लगानीकर्ताले ‘मेरो शेयर’ प्रणालीमार्फत अनलाइन आवेदन पनि दिन सक्नेछन् । कम्पनीका अनुसार उक्त आईपीओ छिटोमा फागुन २२ गतेसम्म र ढिलोमा चैत १ गतेसम्म खुला रहनेछ ।
यस आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी ग्लोबल आइएमई क्यापिटल लिमिटेडले सम्हालेको छ ।
