मंगलबार ०५ फागुन, २०८२

होटल इस्टर्नले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल

होटल इस्टर्नले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल

काठमाडौं ।  झापाको मेचीनगर–१०, धुलाबारीमा निर्माणाधीन पाँचतारे होटल, होटल इस्टर्न नेपाल लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ । यस कार्यका लागि कम्पनीले एनआईसी एशिया क्यापिटललाई आफ्नो बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

एनआईसी एशिया क्यापिटलले आफ्नो चर्चित ‘आईडिया टू आईपीओ’ सेवामार्फत होटललाई पब्लिक कम्पनीमा रूपान्तरण गर्न र आईपीओ निष्कासनका लागि आवश्यक पर्ने सम्पूर्ण वित्तीय तथा परामर्श सेवाहरू उपलब्ध गराउनेछ । यो होटल ‘होलिडे इन एक्सप्रेस एन्ड सुइट्स’ ब्रान्ड अन्तर्गत सञ्चालन हुने तयारीमा छ । जसका लागि कम्पनीले अन्तर्राष्ट्रिय होटल समूहसँग व्यवस्थापन सम्झौता समेत गरिसकेको छ ।

निर्माणको अन्तिम चरणमा पुगेको होटल चालु आर्थिक वर्ष २०८२/८३ भित्र सफ्ट ओपनिङ गर्ने लक्ष्य राखिएको छ । होटल सञ्चालनमा आएपछि क्यासिनो, उच्चस्तरीय गेमिङ तथा मनोरञ्जन सेवा, रूफटप स्विमिङ पुल, आधुनिक तथा सुविधासम्पन्न कोठा तथा सुइट, बैंक्वेट हल, बहुउद्देश्यीय रेस्टुरेन्ट, रूफटप रेस्टुरेन्ट, ज्याकुजी, स्पा, हेल्थ क्लब, इन–हाउस लन्ड्री तथा व्यावसायिक हाउसकिपिङ सेवा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

होटल भारत–नेपाल सीमाबाट करिब ७ किलोमिटर र भारतको बागडोग्रा विमानस्थलबाट करिब २७ किलोमिटर दूरीमा अवस्थित रहेको छ । सीमावर्ती क्षेत्रमा अवस्थित भएकाले भारतीय पर्यटकलाई लक्षित सेवा प्रवाह गर्ने कम्पनीको रणनीति रहेको छ । होटल इस्टर्न नेपाल सञ्चालनमा आएपछि पूर्वी नेपाल मात्र नभई समग्र नेपाली पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।