वाणिज्य बैंकहरूसँग राष्ट्र बैंकले किन्यो ३ अर्ब ४७ करोड डलर
काठमाडौं । चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा नेपाल राष्ट्र बैंकले विदेशी विनिमय बजारमा निकै सक्रिय भूमिका खेलेको छ। रेमिट्यान्स र अन्य वैदेशिक स्रोतबाट विदेशी मुद्राको आपूर्ति बढेसँगै केन्द्रिय बैंकले बजारबाट ३ अर्ब ४७ करोड अमेरिकी डलर खुद खरिद गरेको छ।
जुन गत वर्षको सोही अवधिको २ अर्ब ५२ करोड डलरको तुलनामा उल्लेख्य बढी हो। यसरी डलर खरिद गरेवापत राष्ट्र बैंकले बजारमा ४ खर्ब ९३ अर्ब ४ करोड रुपैयाँ बराबरको नेपाली मुद्रा प्रवाह गरेको छ। जसले बैंकिङ प्रणालीमा तरलता सहज बनाउन मद्दत पुर्याएको छ।
अर्कोतर्फ, भारतसँगको व्यापारिक भुक्तानी र भारु सञ्चिति व्यवस्थापनका लागि राष्ट्र बैंकले २ अर्ब ६ करोड अमेरिकी डलर बिक्री गरी २ खर्ब ९२ अर्ब ९१ करोड रुपैयाँ बराबरको भारतीय रुपैयाँ खरिद गरेको छ। अघिल्लो वर्ष यसै अवधिमा १ अर्ब ९० करोड डलर बिक्री गरेर २ खर्ब ५६ अर्ब ५१ करोड बराबरको भारु व्यवस्थापन गरिएको थियो।
समग्रमा, विनिमय दरमा स्थिरता कायम गर्न र विदेशी मुद्रा सञ्चितिलाई सन्तुलित राख्न केन्द्रिय बैंकले गत वर्षको तुलनामा यस वर्ष थप आक्रामक रूपमा बजार हस्तक्षेप र मुद्रा व्यवस्थापन गरेको देखिन्छ।
