बैंक तथा वित्तीय संस्थाको निक्षेप ७७ खर्ब नाघ्यो
काठमाडौं । बैंक तथा वित्तीय क्षेत्रमा रहेको निक्षेप रकम ७७ खर्ब नाघेको छ । नेपाल राष्ट्र बैंकले पछिल्लो पटक अद्यावधिक गरेको बैंकिङ क्षेत्रको कुल निक्षेप तथा कर्जा प्रवाहसम्बन्धी तथ्यांकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्ससहितका ५४ संस्थाको कुल निक्षेप ७७ खर्ब १९ अर्ब रुपैयाँ पुगेको हो ।
यस अवधिमा बैंकिङ क्षेत्रको कुल कर्जा रकम भने ५७ खर्ब ९६ अर्ब रुपैयाँ पुगेको छ । पछिल्लो अवधिमा वाणिज्य बैंकहरूको मात्र कुल निक्षेप रकम ६९ खर्ब ५५ अर्ब रुपैयाँ पुगेको छ । यस अवधिमा वाणिज्य बैंकहरूको कुल कर्जा रकम भने ५१ खर्ब ५८ अर्ब रुपैयाँ पुगेको छ ।
विकास बैंक र फाइनान्स कम्पनीहरूले भने यो अवधिसम्ममा कुल ७ खर्ब ६५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ६ खर्ब ३८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको देखिएको छ । यस अवधिमा बैंकिङ क्षेत्रको निक्षेप तथा कर्जा अनुपात अर्थात् सिडी रेसियो ७४.३२ प्रतिशत रहेको छ भने अन्तरबैंक ब्याजदर २.७५ प्रतिशत छ ।
बैंकिङ क्षेत्रमा हाल कायम रहेको सिडी रेसियोलाई आधार मान्दा बैंकिङ क्षेत्र अहिले पनि १० खर्ब रुपैयाँको हाराहारीमा कर्जा दिन सक्ने अवस्थामा रहेको छ । यसैबीच सोमबार राष्ट्र बैंकले संस्थागत निक्षेप लगानीको लागि प्रस्ताव आह्वान गरेको छ ।
