बुधबार ०६ फागुन, २०८२

रास्वपाकी मधेस संस्थापक सभापतिले दिइन् राजीनामा, पार्टी विधि र विधान विपरीत चलेको आरोप

रास्वपाकी मधेस संस्थापक सभापतिले दिइन् राजीनामा, पार्टी विधि र विधान विपरीत चलेको आरोप

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले मधेसका संस्थापक सभापति ममता शर्माले राजीनामा दिएकी छिन् । “राजनीतिमा युवा पुस्ता आउनुपर्छ” र “जान्नेलाई छान्ने” भन्ने मूल नारा भए पनि व्यवहारमा ठीक विपरीत शैली भएको भन्दै उनले रास्वपाको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएकी हुन् ।

उनले विज्ञप्तिमा भनेकी छिन्, ‘राजनीतिमा युवा पुस्ता आउनुपर्छ र जान्नेलाई छान्ने भन्ने मूल नाराले प्रेरित भई म यस पार्टीमा आवद्ध भएकी थिएँ। तर, आसन्न फागुन २१ गतेको निर्वाचन सम्बन्धित पार्टीले अवलम्बन गरेको पद्धति, पार्टीको निर्णय तथा कार्यशैली रास्वपाको स्थापनाकालीन मूल्य, पार्टी विधान र सार्वजनिक प्रतिबद्धताभन्दा ठीक विपरीत भएको अनुभव गरेको छु ।’

उनले रास्वपामा दिनरात खटिएका क्षमतावान घण्टी मित्रहरूको योगदानको उचित मूल्यांकन नभएको, विधि र विधान विपरीत क्रियाकलापहरू भएको, पार्टीका सिद्धान्तहरू व्यवहारमा कार्यान्वयन नभएको आरोप लगाएकी छिन् । उनले मुख्यगरी रास्वपामा आर्थिक अनियमितताबाट पार्टीका निर्णयहरू भएकोले आफू यी सबै क्रियाकलापहरूको साक्षी बसेर अब मौन रहिरहन नसकेको बताएकी छिन्।

‘मूलत: आर्थिक अनियमितताबाट पार्टीका निर्णयहरु प्रेरित भएकोबाट मेरो आत्मसम्मान र राजनीतिक मूल्यहरूमाथि आँच आउने परिस्थिति बनेको छ । यी सबै क्रियाकलापहरूको साक्षी बसेर म अब मौन रहिरहन असमर्थ छु।’ उनले भनेकी छिन् ।

सभापति, प्रवक्ता र उच्च तप्कामा बसेका शीर्ष नेताहरूलाई पटक पटक टिकटमा किन अन्याय भयो भनेर प्रश्न गर्दा पार्टीले बेवास्ता गर्दै आएको उनको आरोप छ ।