बुधबार ०६ फागुन, २०८२

चार्टर्ड एकाउण्टेण्टहरुको योग्यतालाई 'प्लस टू' सरह बनाएको भन्दै संघको आपत्ती,नसँच्याए अदालत जाने चेतावनी

चार्टर्ड एकाउण्टेण्टहरुको योग्यतालाई 'प्लस टू' सरह बनाएको भन्दै  संघको आपत्ती,नसँच्याए अदालत जाने चेतावनी

काठमाडौँ । नेपाल चार्टर्ड एकाउण्ट्स संघ (एक्यान)ले सीएहरुको योग्यतालाई अवमूल्यन गरेको भन्दै आपत्ती जनाएको छ ।

मंगलबार पत्रकार सम्मेलन गर्दै संघले माघ २६ गते सरकारले जारी गरेको राजपत्रमा प्रकाशित नियमअनुसार सरकारी नियुक्तीमा सीए पास गरेकाहरुको शैक्षिक योग्यता प्लस टु सरह मात्र हुने र टीयूको छुट्टै स्नातक वा स्नातकोत्तरको कोर्श गरेको हुन पर्नेे उल्लेख गरेको भन्दै संघले आपत्ती जनाएको हो । 

संघका महासचिव प्रदीप अर्यालले सरकारी सेवा नियुक्ती सम्वन्धि उक्त ऐनको संशोधनले सीए पढाईको अवमूल्यन गरेको संघले ठहर गरेको बताएका छन् । उनले भने,'यो नियमले देशमै बसेर केही गरौँ भन्ने सीएहरु पलायन हुने डर पैदा भएको छ,सरकारी सेवामै बौद्धिक वर्गलाई पाखा लगाउने काम भएको छ,जवकि छिमेकी मुलुक भारतमै सीए कोर्शलाई पोष्ट ग्रयाजुयट सरह मान्यता दिएको छ ।'

त्यसैगरी संघका अध्यक्ष अनुप नेपालले राज्यले देशका दक्ष सीएहरुलाई चिन्न नसक्नु घातक भएको बताए । 'राज्यले विदेशी सीए भन्दा स्वदेशी सीएलाई कम आँक्नु खेदजनक छ ।सरकारी संयन्त्रमा सीएलाई निषेधको नीतिले धेरै सीए देश छाड्ने स्थिती बन्ने छ,' उनले भने ।

नेपाल चार्टर्ड एकाउण्ट्स संघका अनुसार हाल नेपालमा ३५ सयको हाराहारीमा चार्टर्ड एकाउण्टेण्ट सीए पास गरेका तथा अध्ययन सकाएर इन्टर्नहरु रहेका छन् ।संघले शुरुमा ऐन सँच्याउन सरकारलाई ज्ञापनपत्र बुझाएर ध्यानाकर्षण गराउने बताएको छ । यदी राज्य ऐन सँच्याउन उदासिन रहे आन्दोलनदेखि अदालतको ढोका ढक्ढक्याउनसम्मको संघले चेतावनी दिएको छ ।