बुधबार ०६ फागुन, २०८२

टेकुबाटै ग्यास वितरण जारी, बजारमा देखिएको अभाव हटाउन आयल निगम सक्रिय

टेकुबाटै ग्यास वितरण जारी, बजारमा देखिएको  अभाव हटाउन आयल निगम सक्रिय

काठमाडौँ : बजारमा देखिएको एलपी ग्यास अभावलाई मध्यनजर गर्दै नेपाल आयल निगमले टेकुस्थित आफ्नो कार्यालयबाट ग्यास वितरण नियमित रूपमा जारी राख्ने भएको छ। आपूर्ति पूर्ण रूपमा सहज नहुन्जेल टेकु डिपो सञ्चालनमा रहने निगमले जनाएको छ।

निगमले गत बुधबारदेखि टेकु कार्यालयमा अस्थायी डिपो सञ्चालन गरी विभिन्न ब्रान्डका ग्यास बिक्री गर्दै आएको छ। निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार ग्यास आयात नियमित भइरहेकाले बजारमा देखिएको अभाव क्रमशः कम हुँदै गएको छ।

चार ब्रान्डका ग्यास वितरण

हाल टेकु डिपोबाट एभरेस्ट, सुगम, नेपाल र साईबाबा ब्रान्डका ग्यास वितरण भइरहेको छ। उपभोक्ताले कार्यालय समयमा खाली सिलिन्डर साटेर भरिएको ग्यास लिन सक्ने व्यवस्था गरिएको छ।

निगमका अनुसार डिपो सञ्चालन भएयता सुगम र एभरेस्टका ७२० तथा नेपाल ग्यासका ६७६ सिलिन्डर बिक्री भइसकेका छन्।

बरौनी रिफाइनरी मर्मतले आपूर्ति प्रभावित

एक महिनाअघि भारतको बरौनी रिफाइनरीमा मर्मत कार्य हुँदा केही समय ग्यास आपूर्तिमा अवरोध आएको थियो। सोही कारण बजारमा अभाव देखिएको निगमले जनाएको छ। अभाव हटाउन हाल बढी मात्रामा ग्यास आयात भइरहेको छ।

अत्यधिक सञ्चयले बढायो समस्या

ग्यास अभाव हुने आशङ्कामा उपभोक्ताले आवश्यकताभन्दा बढी ग्यास सञ्चय गर्न थालेपछि बजारमा थप समस्या देखिएको थियो। घरमा भएका खाली सिलिन्डर एकै पटक भर्ने प्रवृत्तिका कारण अस्थायी अभाव सिर्जना भएको निगमको भनाइ छ।

निगमका अनुसार बजारमा हाल एक करोड ४२ लाख प्रमाणित ग्यास सिलिन्डर रहेका छन्। सामान्य अवस्थामा मासिक ४५ हजार मेट्रिक टन र जाडो याममा ५० हजार मेट्रिक टनसम्म ग्यास खपत हुने गरेको छ। जाडो मौसममा अन्य सिजनको तुलनामा १०–१५ प्रतिशतसम्म खपत बढ्ने उद्योगीहरूको भनाइ छ।

नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष दिवान चन्दले उपभोक्ताले घरमा भएका खाली सिलिन्डर भरिसकेकाले ग्यास आपूर्ति अब क्रमशः सहज बन्दै गएको जानकारी दिनुभयो। उहाँका अनुसार ग्यास अभावबारे फैलिएको हल्लाका कारण एकै पटक माग बढ्दा समस्या देखिएको हो।