चितवनका १९ जना उम्मेदवारले लिए बैंकको खाता खोल्ने सिफारिस
चितवन । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न दल र स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराएका उम्मेदवारमध्ये १९ जनाले बैंक कारोबारका लागि निर्वाचन कार्यालयबाट अनुमति लिएका छन्। जिल्लामा उम्मेदवार रहेका ६४ जनामध्ये उनीहरूले बैंकिङ्ग कारोबारका लागि अनुमति लिएका हुन्।
जिल्ला निर्वाचन कार्यालय चितवनका सूचना अधिकारी नेत्रराज श्रेष्ठका अनुसार बैंकिङ्ग कारोबारका लागि सिफारिस लिनेमा १८ जना राजनैतिक दलका उम्मेदवार हुन भने एक जना स्वतन्त्र उम्मेदवार रहेका छन्।
उनका अनुसार यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि बैंकिङ्ग खाता अनिवार्य गरिएसँगै यसका बारेमा बुझ्न र सिफारिसका लागि आवश्यक प्रक्रियाबारे जानकारी लिन उम्मेदवार र उम्मेदवारका प्रतिनिधिहरू कार्यालय आउन थालेका हुन। उनले भने, ‘बैंकिङ्ग खाता खोल्ने विषयमा जानकारी लिन आउने क्रम बढ्दो छ।’
निर्वाचन आयोगले राजनीतिक दल एवं उम्मेदवारबाट हुने निर्वाचन प्रचारप्रसारको लागि प्राप्त हुने स्वेच्छिक आर्थिक सहयोगको रकम र त्यसको प्रचारप्रसारको लागि राजनीतिक दल एवं उम्मेदवारहरूले गर्ने खर्चलाई मितव्ययी, पारदर्शी बनाई निर्वाचनमा सुशासन कायम गर्न बैंकिङ्ग खाता खोल्नुपर्ने प्रावधान ल्याएको हो।
यस्तै जिल्लामा रहेका ११ जना उम्मेदवारले आफ्नो घोषणापत्र आयोगमा बुझाएका छन्। श्रेष्ठका अनुसार तीन जना स्वतन्त्र उम्मेदवार र आठ जना राजनीतिक दलका उम्मेदवारले आफ्नो घोषणापत्र बुझाएका हुन्। आयोगले फागुन ३ गतेसम्म उम्मेदवारहरूले आफ्नो घोषणापत्र आयोगमा बुझाउन आग्रह गरेको थियो।
यसैबीच प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक सामग्रीहरू निर्वाचन कार्यालयमा आउन थालेका छन्। आयोगले जिल्ला निर्वाचन कार्यालयहरु सामग्री पठाउन सुरु गरेको हो। चितवनमा एक हजार २५० मतपेटिका आइपुगेको श्रेष्ठले जानकारी दिए। अब निरन्तर रूपमा निर्वाचनका सामग्री आउने उनले जानकारी दिए।
जिल्लाका १६२ मतदानस्थल र ४९४ मतदान केन्द्र रहेका छन्। तीन निर्वाचन क्षेत्र रहेको यस जिल्लामा चार लाख ४२ हजार ८२ जना मतदाता छन्। यसमा दुई लाख १७ हजार ३१४ पुरुष र दुई लाख २४ हजार ७६६ महिला एवं दुई तेस्रो लिङ्गी छन्।
