राष्ट्रिय आर्थिक गणनामा चेम्बर र राष्ट्रिय तथ्यांक कार्यालयबीच सहकार्यमा जोड
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्स र राष्ट्रिय तथ्यांक कार्यालयको संयुक्त आयोजनामा राष्ट्रिय आर्थिक गणना २०८२ सञ्चालनका विषयमा उद्योगी-व्यवसायीसँग मंगलवार अन्तरक्रिया गरिएको छ । कार्यक्रममा सहभागीले गणनालाई प्रभावकारी र विश्वसनीय बनाउन सरकारी निकाय र निजी क्षेत्रबीच घनिष्ठ सहकार्य अपरिहार्य रहेकोमा जोड दिएका छन् ।
कार्यक्रममा चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवालले राष्ट्रिय आर्थिक गणनाले देशको वास्तविक आर्थिक अवस्था, उद्योग-व्यवसायको वर्तमान स्थिति, लगानीको प्रवृत्ति तथा रोजगारीको यथार्थ चित्र प्रस्तुत गर्ने बताए। उनले यस्ता तथ्यांकले नीति, नियम, योजना निर्माण र कार्यान्वयन प्रक्रियालाई तथ्यमा आधारित बनाउँदै दीर्घकालीन आर्थिक विकासमा सकारात्मक योगदान पुऱ्याउने उल्लेख गरे । निजी क्षेत्रको सक्रिय सहभागिता विना गणना सफल हुन नसक्ने भन्दै चेम्बर आवश्यक समन्वय र सहकार्यका लागि तयार रहेको पनि उनले स्पष्ट पारे ।
कार्यक्रममा कार्यालयका निर्देशक डा. वेदप्रसाद ढकालले राष्ट्रिय आर्थिक गणनाको आवश्यकता, उद्देश्य र यसको महत्त्वबारे बहुआयामिक प्रस्तुतीकरण गरे उनका अनुसार तथ्यांकले सरकारलाई नीति निर्माण तथा योजना तर्जुमा गर्न, कूल गार्हस्थ उत्पादन र राष्ट्रिय लेखाका अनुमान सुदृढ बनाउन, आधार वर्ष परिवर्तनका लागि गणनाबाट प्राप्त आवश्यक तथ्यांक उत्पादन गर्न तथा विभिन्न आर्थिक सर्वेक्षणका लागि नमूना छनोट ढाँचा तयार गर्न सहयोग पुऱ्याउनेछ ।
साथै तथ्यांकीय व्यावसायिक दर्ता प्रणाली निर्माण, अनौपचारिक अर्थतन्त्रका सूचक तयार पार्ने तथा करीब ५० प्रतिशत रहेको अनौपचारिक अर्थतन्त्रलाई क्रमशः औपचारिक दायरामा ल्याउन समेत यो गणना उपयोगी हुने विश्वास व्यक्त गरिएको छ । दर्ता नभएका फर्मलाई मूलधारमा ल्याउन पनि तथ्यांकले महत्त्वपूर्ण आधार प्रदान गर्ने बताइएको छ ।
अन्तरक्रिया कार्यक्रममा सहभागी सरोकारवालाले गणनाको प्रभावकारिता, निजी क्षेत्रको सहभागिता, कार्यान्वयनका क्रममा देखिन सक्ने चुनौती तथा सुधारका सम्भावित उपायबारे आ-आफ्ना धारणा राखेका थिए । सहभागीले विश्वसनीय तथ्यांकमार्फत दिगो आर्थिक नीति निर्माणका लागि सबै पक्षको समन्वित प्रयास आवश्यक रहेको निष्कर्ष निकालेको छ ।
