बुधबार ०६ फागुन, २०८२

एक महिनामा त्रिभुवन विमानस्थलबाट साढे ७ लाख यात्रुले लिए सेवा

एक महिनामा त्रिभुवन विमानस्थलबाट साढे ७ लाख यात्रुले लिए सेवा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक महिना (जनवरी) मा साढे ७ लाख यात्रुले सेवा लिएका छन् ।

विमानस्थल कार्यालयका अनुसार यो संख्या आन्तरिक र वाह्य दुवै उडान सेवा लिनेको हो । जनवरी २०२६ मा ७ लाख ५० हजार १ सय ८३ यात्रु आवागमन भएको तथ्यांक छ । यसमध्ये अन्तर्राष्ट्रिय हवाई यात्रु संख्या ४ लाख ३१ हजार ६ सय ३५ छ ।

आन्तरिक यात्रु संख्या ३ लाख १८ हजार ५ सय ४८ छ । काठमाडौं विमानस्थलबाट आन्तरिक हवाई यात्रु प्रस्थान १ लाख ६२ हजार २ सय ३१ र आगमन १ लाख ५६ हजार ३ सय १७ छ ।

अन्तर्राष्ट्रियतर्फ काठमाडौंबाट २ लाख १० हजार ८ सय ८७ यात्रु विदेश उडेका छन् । विदेशबाट नेपालमा २ लाख १९ हजार ३ सय ६१ आएको विमानस्थल कार्यालयको तथ्यांक छ ।

तथ्यांक अनुसार आन्तरिक उडानतर्फ हेलिकप्टर सहित २० कम्पनीले यात्रुलाई सेवा दिएका छन् । आन्तरिकतर्फ कुल ६ हजार ८ सय ९ उडान–अवतरण भएको कार्यालयको तथ्यांक छ । जसमा ३ हजार ४ सय ३ प्रस्थान र ३ हजार ४ सय ६ अवतरण भएका छन् ।

अन्तर्राष्ट्रियतर्फ २ हजार ९ सय ४९ उडान-अवतरण भएका छन् । यसमा १ हजार ४ सय ७५ प्रस्थान र १ हजार ४ सय ७४ अवतरण भएको विमानस्थलको तथ्यांक छ ।