‘देश जलाउनेहरूले नै देश बनाउने पार्टी’ को झण्डा जलाएको भन्दै एमालेले दियो यस्तो चेतावनी
काठमाडौं । नेकपा (एमाले) ले दाङको तुल्सीपुरमा आफ्नो चुनाव चिन्ह ‘सूर्य’ अंकित झण्डा जलाइएको घटनाप्रति गम्भीर आपत्ति जनाउँदै यसलाई अराजक, उद्दण्ड र आपराधिक कार्यको संज्ञा दिएको छ।
एमालेका केन्द्रीय प्रचार संयोजक मीनबहादुर शाहीले आज विज्ञप्ति जारी गर्दै ‘देश जलाउनेहरूले नै देश बनाउने पार्टीको झण्डा जलाएको’ भन्दै घटनाको कडा भर्त्सना गरेका छन् ।
त्यस्तै, एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अपाच्य शब्द प्रयोग गर्दै नाराबाजी गरिएको र महासचिव शंकर पोखरेलको गृहजिल्लामै घटना हुनु गम्भीर विषय भएको विज्ञप्तिमा उल्लेख छ। एमालेले यस किसिमको गतिविधिलाई राज्य, लोकतन्त्र र संविधानविरुद्धको अपराधजन्य कार्य भनेको छ।
फागुन २१ गते हुने निर्वाचनलाई ‘देश जलाउने र देश बनाउनेबीचको जनमत संग्रह’को रूपमा व्याख्या गर्दै आएको एमालेले झण्डा जलाउने घटना संयोग नभई योजनाबद्ध रूपमा गरिएको दाबी गरेको छ। साथै, यसले निर्वाचन आचारसंहिताको गम्भीर उल्लंघन भएको पार्टीको निष्कर्ष छ।
एमालेले आफू अनुशासित पार्टी भएकाले संयम अपनाएको उल्लेख गर्दै झण्डा जलाउने कार्यमा संलग्न व्यक्तिहरूलाई तत्काल पहिचान गरी कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसँग माग गरेको छ। साथै, यदि दोषीमाथि कारबाही नभए त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी सरकार, निर्वाचन आयोग र रास्वपाले लिनुपर्ने चेतावनी पनि दिएको छ।
गएराति दाङमा रास्वपा समर्थकहरूले एमालेको झण्डा जलाएको तथा एमाले नेतृत्वविरुद्ध आपत्तिजनक नाराबाजी गरेको घटनापछि रास्वपाले रुपन्देहीको सभा स्थगित गरेको छ ।

