नेशनल लाइफ इन्स्योरेन्स ३९औं वर्षमा प्रवेश, बीमितमैत्री सेवा र उच्च प्रतिफलको प्रतिबद्धता
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आजबाट ३८ वर्ष पूरा गर्दै ३९औं वर्षमा प्रवेश गरेको छ। कम्पनीले २०४४ साल फागुन १० गतेदेखि औपचारिक कारोबार सुरु गरेको थियो र झण्डै चार दशकदेखि जीवन बीमा क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ।
वार्षिकोत्सवको अवसरमा कम्पनीले देशभरका शाखा तथा केन्द्रीय कार्यालयमार्फत निःशुल्क स्वास्थ्य शिविर, रक्तदान कार्यक्रम तथा विभिन्न आश्रमहरूलाई सहयोग गर्दै सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गरेको जनाएको छ। साथै, बीमा सचेतना अभिवृद्धि गर्न विभिन्न जनचेतनामूलक कार्यक्रमहरू पनि आयोजना भइरहेका छन्।
कम्पनीले बीमितमैत्री सेवा प्रवाहलाई थप प्रभावकारी बनाउँदै बीमितलाई अधिकतम लाभ र लगानीकर्तालाई आकर्षक प्रतिफल दिने प्रतिबद्धता व्यक्त गरेको छ। ३९औं वार्षिकोत्सवका अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्री ले ग्राहक, लगानीकर्ता, कर्मचारी, अभिकर्ता, सञ्चालक समिति तथा नियामक निकायप्रति आभार व्यक्त गर्दै कम्पनीका वित्तीय सूचकहरू सुदृढ रहेको र आगामी दिनमा अझै बलियो संस्थाका रूपमा स्थापित हुने विश्वास व्यक्त गरे।
चार दशकको अवधिमा कम्पनीले देशका दुर्गम क्षेत्रसम्म जीवन बीमा सेवा विस्तार गर्दै लाखौं नागरिकलाई जीवन सुरक्षा प्रदान गरेको जनाएको छ। सातै प्रदेशमा विस्तारित शाखा सञ्जाल र हजारौं सक्रिय अभिकर्तामार्फत सेवा प्रवाह गर्दै आएको कम्पनी दाबी भुक्तानी तथा सेवा विस्तारका दृष्टिले अग्रणी रहँदै आएको दाबी गरिएको छ।
कम्पनीको सञ्चालक समितिको अध्यक्षमा प्रेमा राज्य लक्ष्मी सिंह रहेकी छन्। सञ्चालकहरूमा सरस्वती अधिकारी, पवन बहादुर पाण्डे, कुशल मल्ले, भवानी राणा र कुलदिप शरण सिंह रहेका छन्। व्यवस्थापकीय टोलीमा डेपुटी सीईओ स्मृतिराज कडेल, डेपुटी जनरल म्यानेजर प्रज्वल श्यामी, चिफ म्यानेजर सुस्मीता राणा तथा असिस्टेन्ट चिफ म्यानेजर कृष्ण महर्जनलगायत रहेका छन्।
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म प्रकाशित वित्तीय विवरणअनुसार कम्पनीको जीवन बीमा कोषमा करिब एक खर्ब रुपैयाँ सञ्चित छ। सो अवधिमा खुद बीमा शुल्क आर्जन करिब १० अर्ब रुपैयाँ पुगेको छ भने कम्पनीको चुक्ता पुँजी पाँच अर्ब ६९ करोड रुपैयाँ रहेको छ। सुदृढ वित्तीय सूचकका आधारमा कम्पनी उत्कृष्ट बीमा कम्पनीका रूपमा स्थापित हुँदै गएको जनाएको छ।
