आइतबार १० फागुन, २०८२

डाँफे जल उद्योगका थोत्रा र कुच्चिएका जार नष्ट, सरसफाइमा चरम लापरबाही

डाँफे जल उद्योगका थोत्रा र कुच्चिएका जार नष्ट, सरसफाइमा चरम लापरबाही

काठमाडौं । फोहोर जारमा पानी बिक्री वितरण गरेको उजुरी परेपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ललितपुर गोदावरी नगरपालिका-४ स्थित ‘डाँफे शुद्ध जल’ उद्योगमा निरीक्षण तथा अनुगमन गरेको छ ।

४ फागुनमा गरिएको अनुगमन क्रममा उद्योगले मापदण्ड विपरीत काम गरेको पाइएपछि विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ बमोजिम कारबाही अघि बढाएको छ ।

विभागका सूचना अधिकारी बालकुमारी शर्माका अनुसार अनुगमन टोलीले उद्योगमा पानी भर्न प्रयोग गरिरहेका पुराना, कुच्चिएका र थोत्रा ६ वटा जार फेला पारेको र त्यस्ता जार तत्काल नष्ट गरेको छ । आगामी दिनमा त्यस्ता किसिमका जार प्रयोग नगर्न निर्देशन दिइएको छ।

अनुगमन क्रममा उद्योगमा कार्यरत कामदारले व्यक्तिगत सरसफाइ पालना नगरेर गम्भीर लापरबही गरेको फेला परेको छ । पिउने पानीजस्तो संवेदनशील वस्तु उत्पादन गर्ने ठाउँमा कामदारले व्यक्तिगत सरसफाइमा ध्यान नदिएको तथा गहना (ज्वेलरी), नेल पोलिस र चुरा आदि लगाएर काम गरिरहेको अवस्थामा भेटिएको विभागले जनाएको छ ।

त्यसैगरी प्रशोधित पिउने पानी उत्पादन मापदण्ड सम्बन्धी निर्देशिका २०७४ बमोजिम उद्योगले अनिवार्य राख्नुपर्ने अभिलेख (जस्तै, सीआईपी रेकर्ड, तालिका, एसओपी आदि) पनि दुरुस्त नराखेको पाइएको छ ।

त्रुटि फेला परेपछि विभागले उद्योगलाई उत्पादन सम्बन्धी निर्देशिका तथा प्याकेजिङ मापदण्ड पूर्णपालना गर्न कडा निर्देशन दिएको छ । कामदारको व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन र जारको सफाइमा कडाइ गर्दै पानीको स्वच्छता तथा गुणस्तर कायम गर्न उद्योग प्रशासनलाई सचेत गराइएको छ ।

साथै, उक्त उद्योगले बजारमा पठाउने पानीको गुणस्तर यकिन गर्न प्रयोगशाला परीक्षणका लागि जारको पानीको नमुना समेत संकलन गरिएको विभागले जनाएको छ ।