सीडीएससीको सीईओ नियुक्ति विवादमा : खुला प्रतिस्पर्धा बेवास्ता, आफ्नै कर्मचारी नियुक्त
काठमाडौं । सीडीएस एन्ड क्लियरिङ कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ति विवादित बनेको छ ।
खुला प्रतिस्पर्धाबाट हुँदै आएको सीईओ नियुक्ति यसपालि नेप्सेका कर्मचारीलाई नै जिम्मा लगाएपछि विवादित बनेको हो ।
सीडीएससी नेप्सेको सहायक कम्पनीको हो । सीडीएससीमा नेप्सेको ४९.७ प्रतिशत सेयर स्वामित्व छ भने बाँकी नेपाल सरकारकोे छ । नेप्सेको सहायक कम्पनी भएकाले नेप्सेका सीईओ सीडीएससी सञ्चालक समिति अध्यक्ष हुने प्रावधान छ ।
सीडीएससीको अध्यक्षले नेप्सेकै कर्मचारीलाई ४ वर्षका लागि विना प्रतिस्पर्धा प्रबिन पन्दाकलाई सीईओमा नियुक्त गरे । पन्दाक नेप्सेको कर्मचारी भएर पनि सीडीएससीमा ४ वर्षे करार सम्झौतामा काम गर्दै आएका छिन् । उनले नेप्सेको जागिरलाई पनि कायम नै राखेकी छिन् ।
यसअघि सीडीएससीमा नियुक्त भएका सीईओ देवप्रकाश गुप्ता तथा पूर्णप्रसाद आचार्य दुवै खुला प्रतिस्पर्धाबाट आएका थिए । साथै, उनीहरूलाई नियुक्तिका लागि नेप्से सञ्चालक समितिले सिफारिस समिति गठन गरेर छनोट गरेको थियो ।
सीडीएससीले धितोपत्रको केन्द्रीय निक्षेप सेवा नयमावली २०६७ अनुसार भन्दै सार्वजनिक रूपमै सूचना प्रकाशित गरेर सीईओ नियुक्ति प्रक्रिया सुरु गरेर खुला प्रतिस्पर्धाबाट गरे पनि पन्दाकको नियुक्ति नेप्सेको प्रतिनिधि भई सञ्चालकका रूपमा गएको व्यक्तिलाई सञ्चालक समितिले सिधै निर्णय गरेपछि विवाद बढेको नेप्सेका अधिकारीहरू बताउँछन् ।
‘सीडीएससीको सीईओ नियुक्ति प्रक्रियासंगत देखिँदैन,’ नेप्सेका एक अधिकारीले भने, ‘सीडीएससीको बोर्डले नियुक्ति प्रक्रिया र अभ्यासलाई मनोमानी ढंगले प्रयोग गरेको छ ।’
पन्दाकलाई सीईओ नियुक्त गरेको विषय उच्च अदालत पाटनमा समेत पुगेको छ ।
प्रक्रिया मिचेर सीडीएससीको सीईओ नियुक्त भएकी पन्दाक नेप्सेको एक वर्षे बेतलबी काजमा रहेको ती अधिकारीले बताए । नेप्सेको बेतलबी काज सकिएपछि पनि दुवैतिरको पद जोगाइ राखेपछि पन्दाक झनै विवादमा तानिएकी हुन् ।
कानुनी रूपमा पनि पन्दाकको नियुक्ति र हालसम्मको निरन्तरता माथिको कानुनी प्रश्न पेचिलो बन्दै गएको छ । सीडीएससीले सीईओ नियुक्तिका लागि १० माघ २०७६ मा सीईओ सिफारिस सम्बन्धी कार्यविधि २०७६ जारी गरेको थियो ।
पन्दाकको नियुक्ति उक्त कार्यविधि अनुसार पनि छैन । सीडीएससी सञ्चालक समितिले प्रबन्धपत्रमा उल्लेखित व्यवस्था अनुसार आफ्नै तजबिजमा उनलाई नियुक्त गरेको थियो ।
प्रबन्धपत्रको दफा ३५ मा सञ्चालक समितिले आवश्यक देखे कम्पनीका सञ्चालकमध्येबाट एक जनालाई प्रबन्ध सञ्चालक नियुक्त गर्न सक्ने र त्यसरी नियुक्त भएको प्रबन्ध सञ्चालकले कम्पनीको सीईओ भई काम गर्ने उल्लेख छ ।
सोही आधारमा सञ्चालक समितिले पन्दाकलाई १४ पुस २०८१ मा सीडीएससीको सीईओ पदमा ४ वर्षका लागि नियुक्त गरेको थियो ।
