सोमबार ११ फागुन, २०८२

झापा-५ मा बालेनको वाचा : सुकुमवासी समस्या १००० दिनमा समाधान गर्ने

झापा-५ मा बालेनको वाचा : सुकुमवासी समस्या १००० दिनमा समाधान गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्य उम्मेदवार बालेन्द्र शाह (बालेन)ले झापा क्षेत्र नम्बर ५ को सुकुमवासी समस्या एक हजार दिनमा समाधान गर्ने प्रतिबद्धता जनाएका छन् ।

सोमबार बालेनले सार्वजनिक गरेको झापा केन्द्रित बाचापत्रमा लेखिएको छ, ‘झापा ५ का भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासको समस्यालाई न्यायोचित र दिगो समाधान गर्न रास्वपा सरकार गठन भएको १०० दिनमा आयोग, १००० दिनमा समाधान नीति अवलम्बन गरी अधिकार सम्पन्न आयोग मार्फत समयसीमाभित्र कार्यसम्पन्न गरिनेछ ।’

झापा ५ मा मात्रै १२ हजार परिवारका तीन हजार पाँच सय व्यक्ति भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीको रुपमा रहेको अनौपचारिक तथ्यांक छ । झापा जिल्लाभर भने ५० हजार सात सय बढी भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासी रहेको तथ्यांक छ ।

झापा ५ भित्रको दमक नगरपालिकामा मात्रै ६ हजार ३४६, कमल गाउँपालिकामा ८१८, गौरादहमा २ हजार ६६०, गौरीगञ्जमा २ हजार १४६ बढी परिवार भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीको रुपमा रहेका छन् ।

यी भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासी समस्या रास्वपाको सरकार बनेको एक हजार दिनमा सक्ने प्रतिबद्धता बालेनले गरेका हुन् ।

भूमि बैंकको व्यवस्था गर्ने आश्वासन

भूमि सम्बन्धमा यसबाहेक पनि काम गर्ने उनको बाचा छ । ‘बाँझो जमिनको सदुपयोग सुनिश्चित गर्दै जग्गा चक्लाबन्दी तथा एकीकरण प्रवर्द्धनका लागि ‘ल्याण्ड बैंक’ (भूमि बैंक) को व्यवस्था गरिनेछ’ बालेनको बाचा छ ।

उनी थप लेख्छन्, ‘ऐलानी जग्गा सम्बन्धी उचित व्यवस्था एव नक्सांकन अभिलेख नभएका जमिनहरूको नापी नक्सा अभिलेखीकरण गर्ने कार्य सम्पन्न गरिनेछ ।’

उनले दमक भ्युटावर सञ्चालनमा सञ्चालनमा ल्याउने प्रतिबद्धता पनि जनाएका छन् ।