वाणिज्य विभागद्वारा दुई फर्मलाई जरिवाना, चारलाई ३ दिनको अल्टिमेटम
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग ले काठमाडौँमा बजार अनुगमनलाई अझै आक्रामक बनाएको छ। आइतबार गरिएको स्थलगत अनुगमनका क्रममा नियम उल्लंघन गरेको पाइएपछि दुई फर्मलाई जरिवाना गरिएको विभागले जनाएको छ। उपभोक्ताको हित संरक्षण र बजारमा अनुशासन कायम गर्ने उद्देश्यसहित अनुगमनलाई तीव्र बनाइएको हो।
अनुगमनका क्रममा काठमाडौँको बाँसबारीस्थित बाँसबारी राइस मिलमा कानुनविपरीत गतिविधि भेटिएको विभागले जनाएको छ। उत्पादन र बिक्री प्रक्रियामा उपभोक्ता संरक्षणसम्बन्धी मापदण्ड पालना नगरेको पाइएपछि उक्त फर्मलाई दुई लाख जरिवाना गरिएको छ।
विभागका अनुसार उपभोक्ताको स्वास्थ्य र अधिकारसँग प्रत्यक्ष जोडिएको विषय भएकाले कडा कारबाही गरिएको हो।
त्यसैगरी, कागेश्वरी मनोहरा नगरपालिका–६, मुलपानी बाबाचोकस्थित जयस अन्न घर लाई पनि कारबाहीको दायरामा ल्याइएको छ। सामान्य प्रकृतिको उल्लंघन भए पनि कानुनी व्यवस्था कार्यान्वयन गराउन १० हजार जरिवाना गरिएको विभागले स्पष्ट पारेको छ।
दुवै फर्मलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ बमोजिम कसुर ठहर गर्दै सोही ऐनको दफा ३९ अनुसार जरिवाना गरिएको जनाइएको छ।
यस्तै,कागजात अपूरो वा शंकास्पद देखिएका कारण मेगा मार्ट प्रालि सहित अन्य तीन फर्मलाई तीन दिनभित्र आवश्यक कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिइएको छ। तोकिएको समयभित्र उपस्थित नभए थप कारबाही गरिने चेतावनीसमेत दिइएको छ।
यसैबीच, सात वटा अन्य फर्मलाई तत्काल सुधार गर्न लिखित निर्देशन दिइएको विभागले जनाएको छ। मूल्यसूची स्पष्ट रूपमा प्रदर्शन गर्न, अनिवार्य बिल जारी गर्न, म्याद गुज्रिएका वस्तु बिक्री नगर्न तथा लेबलिङसम्बन्धी मापदण्ड कडाइका साथ पालना गर्न निर्देशन दिइएको छ।
