विनोद चौधरीसँग उखु किसानको सर्त– दीर्घकालीन समस्या समाधान गरेमात्रै भोट
काठमाडौैं । नेपाली कांग्रेसका नेता विनोद चौधरीले नवलपरासीका उखु किसानको समस्या समाधानमा आफू प्रतिबद्ध रहेको बताएका छन् ।
नवरपरासी (पश्चिम)–१ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका नेता चौधरीले मतदाता भेटघाटका क्रममा उखु किसानलाई भेट्दै समस्या समाधान गर्न कुनै कसर बाँकी नराख्ने बताएका हुन् ।
‘गत वर्ष पनि न्युनतम समर्थन मूल्य समयमै तोक्न सरकारलाई दबाब दिएको थिएँ । किसानहरूको समस्या समाधानका लागि म सधैँ नै गम्भीर छु,’ चौधरीले भने ।
नवलपरासीका ग्रामीण क्षेत्रमा अधिकांस किसान उखु खेतीमा रहेको बताउँदै उनले किसानका समस्या समाधान गर्न किसानमैत्री नीति बनाउन सरकारलाई दबाब दिने् बताए ।
सोमबार चौधरी चुनावी अभियानका क्रममा प्रतापपुर गाउँपालिकाका वडा नम्बर ५ र ६ मा घरदैलो गर्न पुगेका थिए । चौधरी मत माग्न पुग्दा उखु किसाले आफ्नो समस्याको दीर्घकालीन समाधान दिने उम्मेदवारलाई नै भोट दिने बताएका थिए ।
