वसन्तपुरमा चीर ठड्याइयो : सुरु भयो रङहरूको पर्व होली
काठमाडौं । बसन्तपुर दरबार क्षेत्रमा रङ्गीचङ्गी ध्वजाले सजाइएको तीनतले चीर ठड्याइएसँगै होली पर्व औपचारिक रूपमा सुरु भएको छ ।
फागुन शुक्ल अष्टमीका दिन हनुमानढोका दरबारस्थित गद्दी बैठकको दक्षिणतर्फ चीर ठड्याउने परम्पराअनुसार मंगलबार बिहान मानन्धर समुदायले चीर स्थापना गरेका हुन् । चीर ठड्याएपछि देशभर फागु अर्थात् होली पर्व प्रारम्भ भएको मानिने चलन छ ।
चीर स्थापना कार्यक्रममा सहभागीहरूले एकअर्कालाई अबिर दलेर पर्वको सुरुआतको संकेत दिएका थिए । यसै अवसरमा नेपाली सेनाको टोलीले मंगलधुन बजाउनुका साथै बन्दुक पड्काएर हर्ष बढाइँ गरेको थियो ।
परम्पराअनुसार आजै पशुपतिनाथ मन्दिर, हनुमानढोका दरबारको सुन्दरीचोक तथा पाटन दरबार क्षेत्रस्थित कृष्णमन्दिर परिसरमा समेत रङ्गीचङ्गी कपडाका टुक्रा झुण्ड्याएर होली सुरु भएको संकेत दिइन्छ ।
यस वर्ष होली पर्वको मुख्य दिन फागुन १८ गते हिमाली तथा पहाडी जिल्लामा र फागुन १९ गते तराई–मधेश क्षेत्रमा मनाइनेछ ।
