उद्योग वाणिज्य महासंघको चुनाव : हेमराज ढकालले गरे वरिष्ठ उपाध्यक्षमा प्यानलसहित उम्मेदवारी घोषणा
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारणसभाको अवसरमा नयाँ नेतृत्व चयन प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ। महासंघभित्र आगामी कार्यकालका लागि विभिन्न पदमा उम्मेदवारी घोषणा भएसँगै चुनावी सरगर्मी बढेको हो।
वर्तमान वस्तुगत उपाध्यक्ष हेमराज ढकालले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै उद्योगी–व्यवसायीका साझा मुद्दा उठाउने प्रतिबद्धता जनाएका छन्। उनले निजी क्षेत्रलाई एकताबद्ध र सशक्त बनाउँदै देखिएका समस्या समाधानका लागि सशक्त आवाज उठाउने बताए। सबै पक्षलाई समेटेर अघि बढ्ने उनको भनाइ छ।
एसोसिएट उपाध्यक्ष पदमा ज्योत्सना श्रेष्ठले उम्मेदवारी दिएकी छन्। हाल पनि सोही पदमा कार्यरत श्रेष्ठले निजी क्षेत्रको एकीकृत आवाज बन्ने र नीतिगत कमजोरी सुधार गर्न पहल गर्ने बताइन्। उनले महिला उद्यमी मात्र नभई समग्र उद्योगी–व्यवसायीको प्रतिनिधित्व गर्दै काम गर्ने प्रतिवद्धता व्यक्त गरिन्।
जिल्ला–नगर उपाध्यक्ष पदका लागि उमेश डालमिया र कल्पना गैरे चुनावी मैदानमा उत्रिएका छन्। डालमियाले जिल्ला–नगरका व्यवसायीका समस्या समाधानमा निरन्तर सक्रिय रहेको दाबी गर्दै आगामी दिनमा अझ प्रभावकारी भूमिका खेल्ने बताएका छन्। गैरेले पद प्रतिष्ठा नभई जिम्मेवारी भएको उल्लेख गर्दै स्थानीय व्यवसायीको आवाज सशक्त रूपमा उठाउने बताइन्। पारदर्शिता, उत्तरदायित्व र नेतृत्व क्षमताका आधारमा उम्मेदवारी दिएको उनको भनाइ छ।
वस्तुगत उपाध्यक्ष पदमा नरेशलाल श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन्। हस्तकला तथा निर्यात क्षेत्रसँगै ऊर्जा, हस्पिटालिटी र स्वास्थ्य क्षेत्रमा लगानी गरेका श्रेष्ठले आफ्नो व्यावसायिक अनुभव महासंघमार्फत उपयोग गर्ने बताएका छन्। दुई कार्यकाल कार्यसमितिमा काम गरेको अनुभवले आफूलाई जिम्मेवारी वहन गर्न सक्षम बनाएको उनले बताए।
महिला उपाध्यक्ष पदमा कल्पना श्रेष्ठ र कमला श्रेष्ठ प्रतिस्पर्धामा छन्। कल्पना श्रेष्ठले महासंघको कार्यसमितिमा तीन कार्यकाल काम गरेको अनुभवका आधारमा महिला उद्यमी सशक्तीकरणमा थप योगदान दिने बताइन्। कमला श्रेष्ठले सानो लगानीबाट सुरु गरेको सौन्दर्य व्यवसाय आज ठूलो रोजगारी सृजना गर्ने क्षेत्रमा रूपान्तरण भएको अनुभव सुनाउँदै महिला उद्यमी विकासमा आफूले महत्वपूर्ण काम गरेको दाबी गरिन्।
महासंघको नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी सार्वजनिक भएसँगै उद्योगी–व्यवसायीबीच चासो र बहस बढेको छ। उम्मेदवारहरूले निजी क्षेत्रको हकहित, नीतिगत सुधार र व्यवसायमैत्री वातावरण निर्माणलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
