मंगलबार १२ फागुन, २०८२

कर्मचारी सुरक्षण कोषको १ अर्ब १० करोड मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक

कर्मचारी सुरक्षण कोषको १ अर्ब १० करोड मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा १ अर्ब १० करोड रुपैयाँ लगानी गर्ने भएको छ।

राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको रकम वाणिज्य बैंक, विकास बैंक तथा राष्ट्रियस्तरका वित्त कम्पनीहरूको ३६६ दिने मुद्दती निक्षेपमा राख्न लागेको हो।

राष्ट्र बैंकका अनुसार उक्त रकम २०२६ फेब्रुअरी २७ देखि २०२७ फेब्रुअरी २ सम्म अर्थात ३६६ दिनका लागि मुद्दती निक्षेपमा लगानी गरिनेछ। यसका लागि बैंकले बोलपत्र आह्वान गरिसकेको छ।

कुल लगानीमध्ये ‘क’ वर्गका वाणिज्य बैंकहरूमा ८८ करोड रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकहरूमा १६ करोड ५० लाख रुपैयाँ र ‘ग’ वर्गका वित्त कम्पनीहरूमा ५ करोड ५० लाख रुपैयाँ मुद्दती निक्षेपका रूपमा राखिने जनाइएको छ। इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले आफूले लिन चाहेको रकम र प्रस्तावित ब्याजदर उल्लेख गरी फागुन १३ गतेभित्र प्रस्ताव पेस गर्नुपर्नेछ।