मंगलबार १२ फागुन, २०८२

साम्बाको अपिल : ‘डेढ करोड रुपैयाँ जम्मा भइसक्यो, अब रोक्नुस्’

साम्बाको अपिल : ‘डेढ करोड रुपैयाँ जम्मा भइसक्यो, अब रोक्नुस्’

काठमाडौं । राष्ट्रिय महिला फुटबलकी कप्तान साबित्रा भण्डारी ‘साम्बा’ले आफ्नो उपचारका लागि दिएको समर्थन र माया प्रति आभार व्यक्त गर्दै आर्थिक सहयोग रोक्न आग्रह गरेकी छन्।

साम्बाले सामाजिक सञ्जालमा पोस्ट गर्दै पछिल्लो २४ घण्टामा डेढ करोडभन्दा बढी रकम संकलन भइसकेको जानकारी दिँदै अब आजैबाट आफ्नो अकाउन्टमा सहयोग बन्द गर्न उनले अपिल गरेकी हुन् ।

उनले लेखेकी छन्, ‘खेलाडीका रूपमा मैले आजसम्म कमाएको सबैभन्दा ठूलो सम्पत्ति पैसा र उपाधि होइन, यो माया, भरोसा र समर्थन भन्ने मैले फेरी एकपटक ह्रदयदेखि बुझेको छु । यही नै मेरो वास्तविक कमाइ हो । मेरो उपचारका लागि नेपाली बैंक खातामा एक करोड रुपैयाँभन्दा बढी र विदेशी प्लाटफर्ममा ४५ लाख नेपाली रुपैयाँ ९५२ हजार न्युजिल्यान्ड डलर० जम्मा भएको छ । मलाई प्रायोजन गर्नुहुने संस्था र अन्य नेपालका धेरै संघ-संस्थाले पनि नगद र सुविधा सहयोगको वाचा गर्नुभएको छ । यसले मेरो उपचार खर्च मात्र नभएर, कतारमा उपचारका दौरान लाग्ने आवास र यातायात पनि पुग्ने देखिन्छ । कतारमा रहनुहुने विभिन्न व्यक्तित्व र संस्थाले पनि सहयोगको वाचा गर्नुभएको छ । त्यसैले म आजबाट नै दुवै अकाउन्टमा सहयोग रकम रोकिदिनु हुन अनुरोध गर्दछु ।’

सबित्राले सबै सहयोगकर्तालाई धन्यवाद दिँदै भनिन्, “मेरो उपचारका लागि तपाईंहरूले देखाएको माया र भरोसा मेरो सबैभन्दा ठूलो सम्पत्ति हो। आजबाट दुवै खातामा सहयोग रकम रोकिदिनु हुन अनुरोध गर्दछु।”

उनले आफू अझ मजबुत भएर फर्कने र फेरि नेपालको जर्सी लगाएर देशको लागि जित्ने प्रतिवद्धता पनि व्यक्त गरेकी छन् । उनको घुँडाको एसीएलमा यसअघि शल्यक्रिया गरेर हालिएको ग्राफ्ट र एमसिएल दुवैमा गम्भीर चोट लागेको कारण जटिल शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको छ ।