अष्ट्रेलियन उत्पादन भन्दै चिनियाँ सामान बेच्ने शुभम् हेल्थ केयरमाथि कारबाही
काठमाडौं । अष्ट्रेलियामा उत्पादन भएको दाबी गर्दै चिनियाँ सामान नेपाली बजारमा बिक्री गरेको आरोपमा ‘शुभम हेल्थकेयर’माथि सरकारले कारबाही गरेको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्तालाई वस्तुको वास्तविक उत्पत्ति र गुणस्तरबारे भ्रम सिर्जना गरेको निष्कर्ष निकाल्दै कम्पनीलाई दुई लाख एक हजार रुपैयाँ जरिवाना गरेको जनाएको छ।
विभागका अनुसार कम्पनीले ‘एआईडब्लुआईबिआई अष्ट्रेलिया’ नामक ब्रान्ड प्रयोग गरी विभिन्न सामग्री बिक्री गर्दै आएको थियो । तर अनुसन्धानका क्रममा ती उत्पादनहरू चीनमा निर्मित भएको खुलेको छ। सामानको प्याकेटमा ‘मेड इन पीआरसी’ उल्लेख गरिए पनि वास्तविक उत्पादक कम्पनीको स्पष्ट विवरण नदिइएको पाइएको थियो । यही विषयमा उपभोक्ताबाट उजुरी परेपछि विभागले छानबिन अघि बढाएको हो।
उजुरीमा कम्पनीले जर्मनीको ‘डर्मा टेस्ट’ प्रमाणन चिह्न डाइपर र वाइप्सका लागि मात्र अनुमति पाएको भए पनि तेल, साबुन, स्याम्पुजस्ता अन्य सामग्रीमा समेत प्रयोग गरेको आरोप उल्लेख गरिएको छ। यसरी सीमित स्वीकृति भएको लोगो अन्य उत्पादनमा प्रयोग गर्दा उपभोक्ता झुक्किने अवस्था सिर्जना भएको विभागको ठहर छ।
विभागले त्रुटिपूर्ण लेबल भएका सामग्री तत्काल बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ। साथै आगामी दिनमा उत्पादनको वास्तविक स्रोत, गुणस्तर र प्रमाणिकरणबारे स्पष्ट विवरण सार्वजनिक गरी पारदर्शी व्यापार गर्न कम्पनीलाई सचेत गराइएको छ।
यस प्रकरणमा कम्पनीको आर्थिक कारोबारमाथि पनि प्रश्न उठेको छ। सामान आयात तथा भुक्तानी प्रक्रियामा एउटै वस्तुको फरक–फरक मूल्य देखिएका दुई किसिमका बिल भेटिएको तथा तेस्रो देशमार्फत भुक्तानी गरिएको आशङ्कामा थप उजुरी परेको छ। वैदेशिक मुद्रा अपचलनको सम्भावनालाई ध्यानमा राख्दै राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि छुट्टै अनुसन्धान अघि बढाएका छन्।
