फुटबल कप्तान साम्बाको उपचारका लागि कांग्रेसले गर्यो ५ लाख सहयोग
काठमाडौं । नेपाली कांग्रेसले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’को उपचारका लागि पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। पार्टीका केन्द्रीय कार्यालयका कावा मुख्य सचिव कृष्णप्रसाद दुलालले विज्ञप्ति जारी गर्दै साम्बाको उपचारका लागि उक्त रकम प्रदान गरिएको जानकारी दिएका छन्।
विज्ञप्तिमा भनिएको छ, ‘उहाँको उपचारमा सहयोग पुर्याउनु हामी सबैको कर्तव्य हो । यसै सन्दर्भमा, नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्षसँग टेलिफोन संवाद गरी खेलाडीको उपचार कोषमा पार्टीका तर्फबाट आर्थिक सहयोग गर्ने प्रतिबद्धता बमोजिम एन्फाको ग्लोबल आईएमई बैंक लिमिटेडमा रहेको खातामा पाँच लाख रुपैयाँ जम्मा गरिएको छ ।’
गगन थापाले देशको प्रतिष्ठा बढाउन महत्वपूर्ण योगदान पुर्याएका चर्चित फुटबल खेलाडी ‘साम्बा’प्रति उच्च सम्मान प्रकट गर्दै पार्टीका तर्फबाट आर्थिक सहयोग प्रदान गरिएको उल्लेख गरेका छन्। विज्ञप्तिमा यतिबेला सबैले उनलाई साथ र सहयोग गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।
नेपाली कांग्रेसले खेलकुदलाई केवल मनोरञ्जनमा सीमित नराखी ‘राष्ट्रिय पहिचान’ र ‘राष्ट्र निर्माणमा युवा सहभागिता’ को मेरुदण्डका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
