मंगलबार १२ फागुन, २०८२

काठमाडौं-५ का एमाले उम्मेदवार पोखरेलका १६ बुँदे प्रतिबद्धता

काठमाडौं-५ का एमाले उम्मेदवार पोखरेलका १६ बुँदे प्रतिबद्धता

काठमाडौं । काठमाडौं- ५ का एमाले उम्मेदवार ईश्वर पोखरेलले १६ बुँदे निर्वाचत क्षेत्रगत प्रबिद्धता पत्र सार्वजनिक गरेका छन् । पोखरेलले संविधानको रक्षा, राजनीतिक स्थिरता र आर्थिक–सामाजिक रूपान्तरणलाई प्राथमिकतामा राख्दै शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधार, वातावरण तथा रोजगारी सिर्जनाका योजनाहरूलाई अघि सारेका छन् ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न आवश्यक ऐन–कानुन एक वर्षभित्र निर्माण र अद्यावधिक गर्न पहल गर्ने प्रतिबद्धता पनि उनले जनाएका छन् ।

काठमाडौँ–५ लाई शिक्षा केन्द्रका रूपमा विकास गर्ने योजना पनि छ । सामुदायिक तथा गुठी विद्यालयहरूको पूर्वाधार सुदृढीकरण, शैक्षिक गुणस्तर अभिवृद्धि तथा आधुनिक प्रविधियुक्त प्राविधिक महाविद्यालय स्थापना गर्ने उनको प्रतिबद्धता छ। शिक्षालाई सिप र रोजगारीसँग जोड्दै युवालाई स्वरोजगार बनाउन विशेष कार्यक्रम ल्याइने उनले बताएका छन् ।

स्वास्थ्य क्षेत्रलाई जनताको सहज पहुँचमा पुर्‍याउने उद्देश्यसहित उनले काठमाडौँ–५ भित्र रहेका प्रमुख सरकारी अस्पतालहरू त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, कान्ति बाल अस्पताल र नेपाल प्रहरी अस्पताललाई थप स्रोत–साधन उपलब्ध गराई अन्तर्राष्ट्रिय स्तरको सुपर स्पेसियालिटी सेवामा विकास गर्ने योजना अघि सारेका छन् ।

त्यस्तै, टोखा चण्डेश्वरी प्रदेश अस्पतालको स्तरोन्नति तथा सबै वडामा आधारभूत प्रयोगशालासहित ‘सहरी स्वास्थ्य सेवा केन्द्र’ स्थापना गर्ने घोषणा गरिएको छ ।

नेपालका प्रथम कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारी को स्मृतिमा ‘मनमोहन ज्येष्ठ नागरिक सदन’ निर्माण गरी दिवा सेवा सञ्चालन गर्ने योजना पनि लिच्छविकालीन राजधानी हाँडीगाउँ, सांस्कृतिक क्षेत्र टोखा र धार्मिक गन्तव्य बुढानीलकण्ठ मन्दिर लाई अन्तर्राष्ट्रिय पर्यटन केन्द्रका रूपमा विकास गर्ने योजना पनि छ । टोखाको प्रसिद्ध चाकुलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने र तामाङ तथा नेवार होमस्टे प्रवद्र्धन गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन् ।

टोखा–सुरुङ मार्ग निर्माणलाई तीव्रता दिने, विष्णुमती, सामाखुसी, धोबीखोला, टुकुचा लगायत खोलाको संरक्षण र कोरिडोर विकासमार्फत जल पर्यटन प्रवद्र्धन गर्ने योजना पनि छ ।

उम्मेदवार पोखरेलले राष्ट्रिय स्वाधीनताको रक्षा, संविधानको प्रभावकारी कार्यान्वयन र क्षेत्रीय समृद्धिका लागि जनतासँग सहयोगको अपिल गरेका छन् । उनले विगतदेखि निरन्तर जनतासँगै रहेको उल्लेख गर्दै आगामी फागुन २१ गते हुने निर्वाचनमा विजयी गराई आफ्नो प्रतिबद्धता कार्यान्वयनको अवसर दिन आग्रह गरेका छन् ।